‘एउटा सल्लाहकार नै सरकारको नाश गर्न काफी छ’, अमरेशले सुनाए सत्ताभित्रको ‘हुकुमी शासन’

२५ भाद्र २०८३, बिहीबार १५:३५

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनप्रति इंगित गर्दै उनको पछिल्ला गतिविधिमाथि गम्भीर आपत्ति जनाएका छन्।

सिंहले प्रधानमन्त्रीका सल्लाहकार भारतीय जासुसी संस्थाको निमन्त्रणामा दिल्ली पुगेकोदेखि सरकारी कर्मचारीमाथि दबाब र धम्की दिने कामसम्मका विषय सदनमा उठाएका छन्।

‘एउटा जासुसी संस्थालाई भेट्न प्रधानमन्त्रीका सल्लाहकार जान्छन्। त्यहाँ दिल्लीको लिला प्यालेस होटलको दोस्रो फ्लोरमा बस्छन्,’ उनले बेनको भ्रमणबारे भने। उनले सरकारको सञ्चालन शैलीप्रति व्यंग्य गर्दै ‘देवानन्दको गाइड फिल्मजस्तै यो सरकार चलिरहेको’ टिप्पणी गरे। ‘एउटा सल्लाहकार नै यो सरकारको नाश गर्न काफी छ,’ सिंहले भने।

सिंहले सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशकलाई बोलाएर दुई घण्टाभित्र रेड कर्नर नोटिस जारी गर्न निर्देशन दिइएको र त्यस क्रममा पेस्तोल देखाएर धम्की दिइएको आरोपसमेत लगाए। राज्यका जिम्मेवार निकायका पदाधिकारीलाई यसरी तर्साएर काम गराउने शैलीले विधिको शासनको उपहास गरेको उनको भनाइ छ।

उद्योगमन्त्रीबाट राजीनामा दिएकी गौरीकुमारी यादवको प्रसंगसमेत उठाउँदै सिंहले प्रधानमन्त्री र उनको सचिवालयले मन्त्रीहरूलाई दबाबमा राखेर अघि बढेको आरोप लगाए।

‘गौरीकुमारी यादवले त्यही दिन राजीनामा दिनुपर्थ्यो, जुन दिन रातमा प्रहरी परिचालन गरिएको थियो। प्रधानमन्त्रीलाई मन्त्रीको काम चित्त बुझेन भने बर्खास्त गर्ने अधिकार छ। तर मन्त्रीलाई पक्राउ गर्न सचिवालयले प्रहरी परिचालन गर्ने? यो सुनेर म झस्किन्छु कि म कुन देशको सांसद हुँ?’ उनले प्रश्न गरे।

सिंहले सरकार सञ्चालनमा प्रधानमन्त्रीको सचिवालयका केही व्यक्तिको हस्तक्षेपकारी भूमिका र हुकुमी शैली बढेको दाबी गर्दै यसले लोकतान्त्रिक पद्धति र विधिको शासनलाई कमजोर बनाउने बताए।

उनका यी आरोपपछि सरकार सञ्चालनको शैली, प्रधानमन्त्रीको सचिवालयको भूमिका तथा राज्यका निकायमाथिको कथित हस्तक्षेपबारे संसद्मा बहस चर्किएको छ। सिंहले सरकारलाई सल्लाहकारतन्त्रबाट मुक्त गर्दै विधि, प्रक्रिया र संस्थागत प्रणालीअनुसार सञ्चालन गर्नसमेत चेतावनी दिएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*