बालेन शाहको अमेरिका भ्रमण स्वीकृत

काठमाडौँ । बालेन शाहको अमेरिका भ्रमण स्वीकृत भएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डललाई अमेरिका जाने स्वीकृति दिएको हो। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिँदै भ्रमण स्वीकृत भएको बताए।
निर्णयअनुसार बालेनले असोज ६ देखि १० गतेसम्म अमेरिकाको भ्रमण गर्नेछन्। भ्रमणका क्रममा उनले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुनुका साथै नेपालको पछिल्लो बाढीपहिरो, जलवायु परिवर्तन र त्यसबाट परेको असरका विषयमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने तयारी गरेका छन्।
यसअघि भदौ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डललाई राष्ट्रसंघको महासभामा सहभागी गराउने निर्णय गरेको थियो।
तर भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा र नुवाकोटका नदी किनारका बस्तीमा ठूलो क्षति पुगेपछि प्रधानमन्त्री बालेन आफैं महासभामा सहभागी हुने गरी भ्रमण स्वीकृत गरिएको हो। बाढीका कारण भएको क्षति र त्यसमा जलवायु परिवर्तनको प्रभावबारे विश्व समुदायको ध्यानाकर्षण गराउँदै नेपालले क्षतिपूर्तिको माग अघि बढाउने तयारी गरेको छ।









