आज कुशे औँसी, बाबुको मुख हेर्ने दिन
२६ भाद्र २०८३, शुक्रबार ०७:१७

काठमाडौं । आज भाद्र कृष्ण औँसी अर्थात् कुशे औँसी नेपाली समाजमा बाबुको सम्मान र सम्झना गर्ने दिनका रूपमा मनाइँदैछ। यस दिनलाई विशेषगरी बाबुको मुख हेर्ने दिनका रूपमा मनाउने चलन छ।
कुशे औँसीका अवसरमा छोराछोरीले आफ्ना बाबुलाई मिठाइ, फलफूल, कपडा तथा अन्य उपहार दिएर सम्मान गर्ने गर्छन्। टाढा रहेका सन्तानले फोन तथा भिडियो कलमार्फत बाबुलाई सम्झिने र शुभकामना दिने गरेका छन्।
यसै दिन धार्मिक परम्पराअनुसार घरमा कुश भित्र्याउने चलनसमेत रहेको छ। वैदिक संस्कारमा पवित्र मानिने कुश विभिन्न धार्मिक कार्यमा प्रयोग गरिन्छ।
बाबुको योगदान, त्याग र मायाप्रति कृतज्ञता व्यक्त गर्दै परिवारसँगै बसेर कुशे औँसी मनाउने गरिन्छ। दिवंगत बाबुको सम्झनामा श्राद्ध तथा तर्पण गर्ने परम्परा पनि रहीआएको छ।










