पुराना लाभांश तथा शेयर बुझिलिन शेयरधनीलाई सूर्यज्योति लाइफको आग्रह

२६ भाद्र २०८३, शुक्रबार ०८:२३

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विगतका आर्थिक वर्षमा वितरण गरेको तर शेयरधनीले हालसम्म संकलन नगरेको नगद लाभांश, बोनस शेयर तथा हकप्रद शेयर समयमै लिन आग्रह गरेको छ।

कम्पनीका अनुसार केही शेयरधनीको नगद लाभांश हालसम्म भुक्तानी हुन सकेको छैन। त्यस्ता शेयरधनीको विवरण तथा लाभांश वितरण हुन नसक्नुको कारण कम्पनीको शेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटल लिमिटेडको वेबसाइटमा राखिएको छ। शेयरधनीले विवरण अद्यावधिक गरी बाँकी लाभांश प्राप्त गर्न कम्पनीले आग्रह गरेको छ।

त्यस्तै भौतिक रूपमा रहेका बोनस तथा हकप्रद शेयर प्रमाणपत्र संकलन गरी शेयर अभौतिकीकरण अर्थात् डिम्याट गर्न कम्पनीले अनुरोध गरेको छ। भौतिक शेयर अभौतिकीकरण गरेपछि मात्र नगद लाभांश हितग्राही खातामा रहेको बैंक खातामा पठाउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

डिम्याट खाता खोलेको सम्बन्धित निक्षेप सदस्यमार्फत शेयर अभौतिकीकरण गरी नेपाल क्लियरिङ हाउसअन्तर्गत आईपीएस सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्थामा रहेको आफ्नो बैंक खाताको विवरण हितग्राही खातामा अद्यावधिक गर्न पनि कम्पनीले आग्रह गरेको छ।

हालसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक नगरेका तथा बैंक तथा वित्तीय संस्था मर्जरका कारण बैंक खाता परिवर्तन भएका शेयरधनीले सम्बन्धित निक्षेप सदस्यमा सम्पर्क गरी विवरण अद्यावधिक गर्नुपर्नेछ।

त्यस्तै बुक क्लोजको समयमा शेयर धितो राखी कर्जा लिएका शेयरधनीको हकमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट नो अब्जेक्सन लेटर अर्थात् शेयर फुकुवा पत्र प्राप्त भएपछि मात्र लाभांश बैंक वा हितग्राही खातामा जम्मा गरिने कम्पनीले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*