अर्थमन्त्रीको बोलिले पुँजी बजार उत्साहः बढ्यो कारोबार, बन्ला त लगानीको वातावरण ?

२६ भाद्र २०८३, शुक्रबार १५:०५

काठमाडौँ । लगातार ओरालो लागिरहेको शेयर बजारमा आज भने सुधारको संकेत देखिएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजी बजारमा देखिएका विद्यमान कमजोरी सुधार गर्दै यसको विकास र विस्तारका लागि सरकारले १० देखि १२ बुँदे विशेष सुधार कार्यक्रम ल्याउने तयारी गरेको बताएपछि लगानीकर्ताको मनोबल केही बढेको हो । एक कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले पूँजी बजारलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने दिशामा सरकार अघि बढिरहेको संकेत दिएका छन् । लामो समयदेखि बजारमा देखिएको अस्थिरता, घट्दो कारोबार र लगानीकर्ताको कमजोर मनोबलबीच सरकारबाट सुधारको स्पष्ट पहल हुने संकेत आएपछि बजारमा सकारात्मक मनोवैज्ञानिक प्रभाव परेको देखिएको छ ।

अर्थमन्त्री वाग्लेले बैंकिङ क्षेत्रमा थुप्रिएको पूँजी घरजग्गा र शेयर बजारमा मात्र केन्द्रित हुनुको सट्टा उत्पादनमूलक क्षेत्रमा परिचालन गर्न सके मुलुकको अर्थतन्त्र थप सुदृढ हुने धारणा पनि राखेका छन् । उनको भनाइले पूँजी बजारलाई अर्थतन्त्रको उत्पादनशील क्षेत्रसँग जोड्ने सरकारको नीति प्राथमिकतालाई संकेत गरेको छ । लगानीकर्ताले पनि पूँजी बजारसम्बन्धी सुधार, नियामकीय स्पष्टता र लगानीको वातावरण सहज बनाउने सरकारी पहलको अपेक्षा गरिरहेका बेला अर्थमन्त्रीको पछिल्लो अभिव्यक्तिलाई सकारात्मक रूपमा लिएका छन् ।

यसअघि विनाशकारी बाढी तथा पहिरोका कारण जलविद्युत् आयोजनाका विद्युत्गृह, बाँध, सुरुङ, पहुँचमार्ग र प्रसारण लाइनमा पुगेको क्षतिले जलविद्युत् कम्पनीप्रति लगानीकर्ताको आशंका थप बढाएको थियो । यसैबीच मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्सलाई प्राप्ति गर्ने प्रक्रिया अघि बढाएपछि सम्बन्धित कम्पनीहरूको शेयरमूल्यमा देखिएको तीव्र उतारचढावले पनि लगानीकर्ताको मनोविज्ञानमा थप दबाब पारेको थियो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.९४ अकंले बढेर २५५९.४९ बिन्दुमा कायम भएको छ। आज ३४५ कम्पनीको १ करोड २० लाख ८६ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३५ करोड ९१ लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन १३ उपसूचकमा नै सुधार देखिएको छ । आज विकास बैंकको १.०५ प्रतिशत, उर्जा समूहको १.८३ प्रतिशतले शेयर मूल्य बढेको छ ।

शुक्रबार २३७ कम्पनीको शेयर मूल्य बढेको छ भने ३१ कम्पनीको घटेको छ । ९ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*