तीनकुनेबाट ७०५ सिलिन्डर ग्यास बरामद, सिलिन्डर ५ हजारमा बिक्री गर्ने सञ्चालक पक्राउ

२६ भाद्र २०८३, शुक्रबार १५:५३

काठमाडौँ । प्रहरीले काठमाडौँको तीनकुनेस्थित गैरीगाउँबाट ७०५ सिलिन्डर ग्यास बरामद गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुई वटा ठूला ट्रकमा लोड गरिएको अवस्थामा ती सिलिन्डर फेला पारेको हो।

ग्यास कालोबजारी गरेको आरोपमा प्रहरीले बसुन्धारास्थित जय श्री बालाजी ग्यास स्टोरका सञ्चालक दिनेश लुइँटेललाई पक्राउ गरेको छ। ३८ वर्षीय लुइँटेल मोरङको ग्रामथान गाउँपालिका–२ का स्थानीय रहेको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा लुइँटेलले ग्यासको सिलिन्डर तोकिएको मूल्यभन्दा महँगोमा बिक्री गर्ने गरेको खुलेको छ। उनले भरिएको ग्यास सिलिन्डर प्रतिगोटा २ हजार ७५० रुपैयाँमा बिक्री गर्ने गरेको पाइएको छ।

प्रहरीका अनुसार बरामद भएका सबै सिलिन्डर नेपाल ग्यास कम्पनीका हुन्। लुइँटेलले नयाँ सिलिन्डरसमेत प्रतिगोटा ५ हजार रुपैयाँसम्ममा बिक्री गर्ने गरेको खुलेको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*