परराष्ट्रमन्त्री खनाल र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

२६ भाद्र २०८३, शुक्रबार १६:२१

काठमाडौँ। नेपालका लागि अमेरिकी दूतावासकी नवनियुक्त कार्यवाहक राजदूत मेगन बोल्डिनले परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरेकी छन्। शुक्रबार परराष्ट्र मन्त्रालयमा भएको भेटमा उनले हालैको भोटेकोशी बाढीबाट ज्यान गुमाएका तथा प्रभावित परिवारप्रति दुःख व्यक्त गर्दै विपद्को यस घडीमा नेपालसँग अमेरिका रहेको बताइन्।

भेटका क्रममा बोल्डिनले बाढीपछि उत्पन्न मानवीय संकट समाधानका लागि राहत, पुनर्स्थापना र पुनर्निर्माणका काममा अमेरिकी सरकार आवश्यक सहयोग उपलब्ध गराउन तयार रहेको जानकारी दिइन्। नेपालले भोगिरहेको कठिन परिस्थितिमा सम्भव भएसम्म सहयोग र सहकार्य जारी राख्ने उनको भनाइ थियो।

कार्यवाहक राजदूतको धारणा उद्धृत गर्दै परराष्ट्र मन्त्रालयले अमेरिकी सरकार नेपाललाई विपद् व्यवस्थापनका विभिन्न चरणमा सहयोग गर्न प्रतिबद्ध रहेको जनाएको छ। जवाफमा परराष्ट्रमन्त्री खनालले विपद्को समयमा नेपालप्रति ऐक्यबद्धता जनाउँदै सहयोगको प्रतिबद्धता व्यक्त गरेकोमा अमेरिकी सरकार र अमेरिकी जनताप्रति आभार व्यक्त गरे।

यसैबीच, अमेरिकी दूतावासले खोज तथा उद्धार अभियानमा नेपाल सरकारसँग सहकार्य भइरहेको जनाएको छ। बाढीका कारण सम्पर्कविहीन भएका अमेरिकी नागरिकसहित अन्य प्रभावितको खोजी तथा उद्धारका लागि नेपाल सरकारले गरिरहेको प्रयासप्रति बोल्डिनले धन्यवाद व्यक्त गरेकी छन्।

दूतावासका अनुसार अमेरिकी सहयोग नेपालमा भइरहेको विपद् प्रतिकार्यमा केन्द्रित छ भने अमेरिकी नागरिकको सुरक्षा प्राथमिकतामा राखिएको छ। नेपालको नेतृत्वमा प्रभावित समुदायसम्म राहत तथा सहायता पुर्‍याउने काममा अमेरिका सहकार्य गरिरहेको दूतावासले जनाएको छ।

अमेरिकाले बाढी तथा विपद् प्रभावितका लागि ४० लाख अमेरिकी डलरभन्दा बढी अर्थात् करिब ६१ करोड रुपैयाँ बराबरको मानवीय सहायता परिचालन गरिसकेको जनाएको छ। उक्त सहयोगमा खाद्यान्न, आकस्मिक राहत सामग्री, आवश्यक उपकरण तथा विपद्बाट प्रभावित व्यक्तिको पुनर्लाभमा प्रयोग हुने विशेष सामग्री समावेश छन्।

त्यसैगरी, बाढीमा परी मृत्यु भएका तथा बेपत्ता भएकाहरूको पहिचानमा नेपाल प्रहरीसँग अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) का फरेन्सिक विशेषज्ञले सहकार्य गरिरहेका छन्। उनीहरूले पीडितको पहिचान गरी परिवारलाई आवश्यक सूचना उपलब्ध गराउन प्राविधिक सहयोग गरिरहेको दूतावासले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*