चेम्बर अध्यक्ष अग्रवाल र एडीबीका शिक्षा विशेषज्ञ सुबीच भेटवार्ता, उद्योगसँग जोडिँदै टीभीईटीमा जोड

२६ भाद्र २०८३, शुक्रबार १७:३६

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स (एनसीसी) का अध्यक्ष कमलेश कुमार अग्रवाल र एसियाली विकास बैंक (एडीबी) का वरिष्ठ शिक्षा विशेषज्ञ जियान सु बीच भेटवार्ता भएको छ । शुक्रबार चेम्बर भवनमा भएको भेटवार्तामा नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम (टीभीईटी) प्रणालीलाई उद्योगको वास्तविक आवश्यकता र रोजगारीसँग जोड्ने विषयमा छलफल भएको हो ।

भेटवार्तामा अध्यक्ष अग्रवालले नेपालको उपलब्ध प्राकृतिक तथा आर्थिक स्रोतसाधनको प्रभावकारी उपयोग गर्दै युवालाई उद्योगको मागअनुसार आवश्यक सीप प्रदान गर्नुपर्नेमा जोड दिए । उनले कक्षाकोठामा मात्र आधारित तालिमभन्दा व्यावहारिक तथा कार्यस्थलमा आधारित प्रशिक्षणलाई प्राथमिकता दिनुपर्ने बताए ।

अग्रवालले सीप प्रदर्शनका आधारमा प्रमाणपत्र प्रदान गर्ने, अनौपचारिक रूपमा वा कार्यअनुभवबाट हासिल भएका सीपलाई मान्यता दिने तथा टीभीईटीको पाठ्यक्रम र व्यावसायिक दक्षता निर्धारणमा निजी क्षेत्र तथा उद्योगलाई औपचारिक भूमिका दिनुपर्ने बताए ।

उद्योगको सहभागिता सल्लाहकार भूमिकामा मात्र सीमित नभई सीप पहिचान, पाठ्यक्रम निर्माण, तालिम, अप्रेन्टिससिप, मूल्यांकन, प्रमाणीकरण र रोजगारीसम्म विस्तार गर्नुपर्ने उनको भनाइ थियो ।

भेटवार्तामा एडीबीको सहयोगमा एडीबी–एनसीसी उद्योग सीप सर्वेक्षण सञ्चालन गर्ने प्रस्तावसमेत अघि सारिएको थियो । उत्पादन, निर्माण, पर्यटन, सूचना प्रविधि, ऊर्जा, कृषि तथा कृषि प्रशोधन, अटोमोबाइल, लजिस्टिक्स, ई–कमर्स तथा निर्यातमुखी उद्योगलगायत क्षेत्रमा दक्ष जनशक्तिको माग पहिचान गर्न सर्वेक्षण उपयोगी हुने चेम्बर अध्यक्षले अग्रवालले धारणा राखे ।

अध्यक्ष अग्रवालले नेपाली युवालाई अन्तर्राष्ट्रिय मापदण्डअनुसारको सीप प्रदान गरी स्वदेशी उद्योग, सेवा निर्यात तथा अन्तर्राष्ट्रिय रोजगारीका लागि सक्षम बनाउनुपर्ने बताए। साना तथा मझौला उद्यमका लागि साझा तालिम केन्द्र, अप्रेन्टिससिप कार्यक्रम तथा डिजिटल तालिम प्लेटफर्म विकासमा एडीबीको सहयोग आवश्यक रहेको उनले बताए ।

त्यस्तै, महिला, ग्रामीण युवा, आर्थिक रूपमा कमजोर समुदाय तथा कम विकसित क्षेत्रका युवाको टीभीईटीमा सहभागिता बढाउन विशेष कार्यक्रम आवश्यक रहेको अग्रवालले बताए ।

टीभीईटी कार्यक्रमको सफलता तालिम लिनेको संख्या वा प्रमाणपत्र वितरणबाट मात्र नभई तालिमपछि रोजगारी दर, रोजगारदाताको सन्तुष्टि, उत्पादकत्व तथा उद्यम सिर्जना जस्ता परिणामबाट मापन गर्नुपर्नेमा पनि उनले जोड दिए ।

“रोजगारीको परिणाम नै नेपालको टीभीईटी प्रणालीको प्रमुख कार्यसम्पादन सूचक (केपीआई) बन्नुपर्छ,” अग्रवालले भने ।

अध्यक्ष अग्रवालले उद्योग नेतृत्वको टीभीईटी, मागमा आधारित लगानी, अप्रेन्टिससिप, डिजिटल तथा भविष्यका सीप र रोजगारीमा आधारित मूल्यांकनलाई आगामी दिनको प्राथमिकता बनाउनुपर्ने बताए । एडीबी, नेपाल सरकार तथा तालिम प्रदायक संस्थासँग सहकार्य गरी उद्योग–टीभीईटी साझेदारीलाई सुदृढ गर्न नेपाल चेम्बर तयार रहेको उनले बताए ।

भेटवार्तामा एडीबीका वरिष्ठ शिक्षा विशेषज्ञ जियान सुले नेपालमा युवाका लागि गुणस्तरीय शिक्षा, सीप विकास तथा रोजगारी सिर्जनालाई उद्योगको मागसँग जोडेर अघि बढाउनुपर्ने बताए । उद्योगको मागअनुसार व्यावहारिक सीप विकास र रोजगारीसँग जोडिएको तालिम प्रणालीले युवालाई गुणस्तरीय रोजगारीका अवसर प्राप्त गर्न सहयोग एडिबी तयार रहेको उनले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*