कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार देशका हिमाली र पहाडी भू–भागमा सामान्यतया बदली तथा तराई क्षेत्रमा आंशिक बदली रहनेछ। हिमाली र पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
तराईका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ।
रातिको समयमा पनि हिमाली र पहाडी भू–भागमा सामान्यतया बदली तथा तराई क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिमका हिमाली क्षेत्रमा एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
यस्तै कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा पनि एक–दुई स्थानमा मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।











