परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

६ आश्विन २०८३, मंगलवार १०:५०

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र जापानका विदेशमन्त्री मोटेगी तोसिमित्सुबीच संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका क्रममा न्युयोर्कमा द्विपक्षीय भेटवार्ता भएको छ ।

भेटवार्तामा नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति जापानका विदेशमन्त्री मोटेगीले गहिरो दुःख व्यक्त गर्दै पीडितप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवार र प्रभावितप्रति समवेदना व्यक्त गरेका छन् ।

उनले विपद्बाट प्रभावितको उद्धार तथा सहयोगका लागि नेपाल सरकारले गरिरहेको निरन्तर प्रयासको प्रशंसा गर्दै विपद्को यस घडीमा जापान नेपालसँगै रहेको बताएको मन्त्री खनालको सचिवालयले जनाएको छ । त्यसअवसरमा उनले जापानले आपत्कालीन अवस्थादेखि दीर्घकालीन चरणसम्म नेपाललाई सहयोग जारी राख्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

भेटवार्तामा परराष्ट्रमन्त्री खनालले बाढीबाट भएको क्षतिप्रति जापान सरकार र जापानी जनताले व्यक्त गरेको समवेदना तथा ऐक्यबद्धताका लागि धन्यवाद ज्ञापन गरेका थिए । खनालले विपद्मा हराइरहेका विदेशी नागरिक, जापानी नागरिकसमेतको खोज तथा उद्धारका लागि नेपाल सरकारले कुनै कसर बाँकी नराखी प्रयास गरिरहेको जानकारी दिएका थिए ।

एक अर्काे प्रसङगमा जापानका विदेशमन्त्री मोटेगीले लोकतन्त्रको सुदृढीकरण र विकास निर्माणमा जापानले नेपाललाई निरन्तर सहयोग गर्दै आएको उल्लेख गरेका छन् ।

उनले आगामी नोभेम्बरमा नेपालमा आयोजना हुने ‘नेपाल–जापान फेस्टिबल’ ले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप गहिरो बनाउन योगदान पुर्‍याउने विश्वास व्यक्त गरे साथै वालेन्द्र शाह नेतृत्वको सरकारसँग जापानले नेपालका विकास प्रयासमा निरन्तर सहयोग गर्ने बताए ।

परराष्ट्रमन्त्री खनालले जापानको दीर्घकालीन सहयोगप्रति धन्यवाद व्यक्त गर्दै दुइदेशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षको अवसरमा नेपाल–जापान सम्बन्धलाई थप विस्तार गर्न नेपाल इच्छुक रहेको बताएको मन्त्री खनालको सचिवालयले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*