पाँच प्रदेशका ११ जिल्लामा नेपाल टेलिकमका १३ नयाँ मोबाइल साइट सञ्चालन

काठमाडौं । नेपाल टेलिकमले २०८३ भदौ महिनामा देशका पाँच प्रदेशका ११ जिल्लामा १३ वटा नयाँ २जी तथा ४जी मोबाइल साइट सञ्चालनमा ल्याएको छ। नयाँ साइट सञ्चालनमा आएसँगै ती क्षेत्रका बासिन्दाले थप सहज रूपमा मोबाइल सेवा तथा नेटवर्क पहुँच प्राप्त गर्ने टेलिकमले जनाएको छ।
टेलिकमका अनुसार बागमती प्रदेशअन्तर्गत ललितपुरका वडा नं. ३ कार्यालय र च्याउँ डाँडामा तथा चितवनको मोहनपुरमा नयाँ मोबाइल साइट सञ्चालनमा ल्याइएको छ। गण्डकी प्रदेशमा नवलपुरको पोखरा डाँडा र लमजुङको मध्यमर्स्याङ्दीमा साइट सञ्चालनमा आएका छन्।
त्यसैगरी, लुम्बिनी प्रदेशअन्तर्गत कपिलवस्तुको धरमपानी तथा पाल्पाको रामपुर र होक्से माइनमा नयाँ मोबाइल साइट सञ्चालनमा ल्याइएको टेलिकमले जनाएको छ। कर्णाली प्रदेशमा जुम्लाको कनकासुन्दरी र सुर्खेतको गुठला रोडमा साइट सञ्चालनमा आएका छन्।
सुदूरपश्चिम प्रदेशमा बाजुराको बडीमालिका, डडेलधुराको गाउँखेत र दार्चुलाको रिठचौपातामा नयाँ मोबाइल साइट सञ्चालनमा ल्याइएको छ। यससँगै भदौ महिनामा मात्रै पाँच प्रदेशका ११ जिल्लामा १३ वटा नयाँ २जी तथा ४जी मोबाइल साइट सञ्चालनमा आएका छन्।











