अमेरिकाले नेपाललाई थप ४ अर्ब ६५ करोड सहयोग गर्ने

गिरिजाप्रसाद अधिकारी
७ आश्विन २०८३, बुधबार १२:२८

न्यूयोर्क । संयुक्त राज्य अमेरिकाले नेपाललाई थप ४ अर्ब ६५ करोड सहयोग गर्ने भएको छ । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितलाई राहत तथा पुनस्र्थापनाका लागि सहयोग गर्ने जनाएको हो ।

यसअघि बाढी आए लगत्तै अमेरिकाले नेपाललाई ७५ करोड रुपैयाँ सहित राहत सामग्री तथा प्राविधिक सहयोग उपलब्ध गराएको थियो । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टमी पिगटले पत्रकारहरुसँग कुरा गर्दै नेपाललाई आवश्यक परे थप आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउन अमेरिकी सरकार तयार रहेको बताएका हुन् ।

बाढीका कारण क्षतिग्रस्त भौतिक पूर्वाधार पुनर्निमार्ण, प्रभावित नागरिकलाई खानेपानी, सरसफाइ लगायतमा मद्दत पुग्ने गरी सहायता दिन लागेको हो । भविष्यका विपद् उद्धार तथा पुनरुत्थान प्रयासहरूलाई सहयोग पुर्‍याउन अमेरिकामा निर्मित ड्रोनहरू खरिदका लागि पनि यो रकम सहयोग उपलब्ध गराइने भएको हो । विदेश मन्त्रालयले अमेरिका थप सहयोग आवश्यक पर्ने क्षेत्रहरू पहिचान गर्न र उपलब्ध गराउन नेपाल सरकारसँग नजिकबाट सहकार्य गरिरहेको जनाएको छ ।

न्युयोर्कमा नेपालका परराष्ट्रमन्त्री शिशिर खनालसँगको भेटका क्रममा अमेरिकी राजनीतिक मामिलाकी उपविदेशमन्त्री एलिसन हुकरले सो सहयोग रकम उपलब्ध गराउने बताएकी हुन् । हुकरले सो अवसरमा नेपालको रसुवा बाढीमा बेपत्ता रहेका ७० अमेरिकी नागरिकका परिवारप्रति पनि सहानुभूति व्यक्त गरेकी छन् ।

तस्बिरः शिशिर खनाल सचिवालय

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*