पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र

१२ आश्विन २०८३, सोमबार ११:५१

काठमाडौं । अविरल वर्षाका कारण पहिरो खसेर अवरुद्ध बनेको पृथ्वी राजमार्गका विभिन्न स्थानमा सडक खुलाउनका लागि निरन्तर प्रयास जारी रहेको छ । सडकमा पहिरो खस्नुका साथै केही स्थानमा बाढीले सडक कटान र डाइभर्सन बगाएपछि यातायात सञ्चालनमा समस्या भएको हो ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार धादिङ जिल्लाको गजुरी गाउँपालिका–२ चालिसे र गजुरी गाउँपालिका–५ बाङ्गेमोडमा खसेको पहिरो हटाउने काम भइरहेको छ । ठूलो परिमाणमा लेदोसहितको पहिरो खसेकाले सडक पूर्ण रूपमा खुलाउन केही समय लाग्नेछ ।

त्यस्तै पृथ्वीराजमार्गअन्तर्गत कृष्णभिरमा खसेको पहिरो हटाएपछि एकतर्फी रूपमा सवारीसाधन सञ्चालन गर्न सकिने अवस्था बनेको छ । चालिसे र बाङ्गेमोडमा पहिरो पूर्ण रूपमा हटाउन बाँकी रहेकाले सो सडकखण्डमा तत्काल नियमित रूपमा सवारी सञ्चालन गर्न भने सकिने छैन । पहिरो हटाउने क्रममा थप वर्षा भएमा माथिबाट पुनः पहिरो खस्ने जोखिम रहेकाले सवारीसाधन सञ्चालनमा थप समस्या हुनसक्ने ट्राफिक प्रहरीले जनाएको छ ।

यसैगरी वर्षाका कारण काठमाडौँ उपत्यका जोड्ने पृथ्वी राजमार्ग, बिपी राजमार्ग र कान्ति राजमार्गसहित सात राष्ट्रिय राजमार्गमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ । विभिन्न स्थानमा पहिरो तथा बाढीका कारण सडक अवरुद्ध भएपछि सम्बन्धित निकायसँग समन्वय गरी सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

कान्तिलोकपथअन्तर्गत ठिङ्गन तथा फर्पिङ–फाखेल खण्डमा समेत पहिरो खसेकाले हटाउने काम भइरहेको छ । ट्राफिक प्रहरीका अनुसार वर्षाकै कारण बिपी राजमार्गमा सवारी आवागमन प्रभावित भएको छ । बिपी राजमार्गको माम्ती, पिप्ले, दाउन्ने–कालोपुल, चारसयबेँसी, कटुन्जे, चौकीडाँडालगायत स्थानमा पहिरो तथा बाढीले डाइभर्सन बगाउँदा यातायात सेवा अवरुद्ध भएको हो ।

बाढी र पहिरोका कारण सडकका विभिन्न स्थानमा आवागमन अवरुद्ध भएपछि यात्रु तथा चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न तथा सडकको अवस्था बुझेरमात्र यात्रा गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ । वर्षा भइरहेका बेला पहाडी सडकमा जुनसुकै समयमा पहिरो खस्न सक्ने भएकाले अनावश्यक यात्रा नगर्न प्रहरीले अनुरोध गरेको छ ।

उता काठमाडौँको दक्षिणकाली–सिस्नेरी सडकखण्डमा साना सवारीसाधन तथा टाटा सुमोलगायतका गाडी सञ्चालनमा छन् । ठूला सवारीसाधनलाई भने त्रिभुवन राजपथ हुँदै सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ । ट्राफिक प्रहरीका अनुसार दक्षिणकाली–सिस्नेरी सडकखण्ड तथा त्रिभुवन राजपथमा सवारीसाधनलाई निश्चित समयतालिका बनाएर आलोपालो सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ । सडकको अवस्था, सवारीको चाप र मौसमलाई ध्यानमा राखेर आवश्यक व्यवस्थापन गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*