लाभा-बेन्कोको बजार खस्किँदा अम्बे मोबाइल संकटमा, ७७ करोडको व्यापारमा ५८ करोड बैंक ऋण

१२ आश्विन २०८३, सोमबार १२:०७

काठमाडौँ । नेपाली बजारमा लाभा र बेन्को ब्रान्डका मोबाइल बिक्री गर्दै आएको अम्बे मोबाइलको व्यापार निरन्तर ओरालो लागेको छ । बजारमा कम्पनीका मोबाइलको बिक्री कमजोर बन्दै जाँदा आम्दानी घटी रहेको हो ।

आर्थिक वर्ष २०८२/८३ मा अम्बे मोबाइलको सञ्चालन आम्दानी करिब ७७ करोड रुपैयाँमा सीमित भएको छ । आर्थिक वर्ष २०७८/७९ मा १ अर्ब ३४ करोड २० लाख रुपैयाँ रहेको कम्पनीको आम्दानी २०७९/८० मा सामान्य बढेर १ अर्ब ३४ करोड ३० लाख रुपैयाँ पुगेको थियो । त्यसपछि भने कम्पनीको व्यापार निरन्तर ओरालो लागेको हो । आर्थिक वर्ष २०८०/८१ मा आम्दानी १ अर्ब १९ करोड १० लाख रुपैयाँमा झरेकोमा पछिल्लो वर्ष करिब १० प्रतिशतले थप घटेको छ ।

सन् २०१५ मा स्थापना भएको अम्बे मोबाइल नेपालमा लाभा ब्रान्डका मोबाइल फोनको एकमात्र आधिकारिक वितरक तथा बेन्को मोबाइलको आधिकारिक वितरकका रूपमा सञ्चालन हुँदै आएको छ । अम्बे समूहअन्तर्गत रहेको कम्पनीले नेपालभर ४६ वटा खुद्रा पसल तथा सेवा केन्द्रमार्फत आफ्नो सञ्जाल विस्तार गरेको दाबी गरे पनि त्यसको प्रतिफल कम्पनीको आम्दानीमा देखिन सकेको छैन । बरु पछिल्ला वर्षमा बिक्री लगातार घट्दै जाँदा कम्पनीको बजार उपस्थिति कमजोर बन्दै गएको देखिन्छ ।

कम्पनीको व्यापार घट्नुको मुख्य कारण आपूर्तिकर्ताबाट मोबाइलको ढिलो र सीमित आपूर्ति देखिएको छ । विशेषगरी स्मार्टफोनको बिक्रीमा ठूलो धक्का लागेको छ । आर्थिक वर्ष २०८२/८३ मा कम्पनीको स्मार्टफोन बिक्री करिब ४३ प्रतिशतले घटेको छ । स्मार्टफोन बिक्री यति ठूलो परिमाणमा खस्किएपछि कम्पनीको समग्र व्यापारमा प्रत्यक्ष असर परेको हो । सामान्य मोबाइलको बिक्री भने करिब १६ प्रतिशतले बढेको भए पनि त्यसले स्मार्टफोन बिक्रीमा आएको ठूलो गिरावट पूर्ति गर्न सकेन । फलस्वरूप कम्पनीको कुल आम्दानीमा सामान्य मोबाइलको हिस्सा करिब ७७ प्रतिशत पुगेको छ ।

आम्दानी लगातार घटे पनि सञ्चालन नाफाको अनुपातमा भने केही सुधार देखिएको छ । आर्थिक वर्ष २०७८/७९ र २०७९/८० मा सञ्चालन आम्दानीको तुलनामा सञ्चालन नाफा ३ दशमलव ७ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०८०/८१ मा यो अनुपात २ दशमलव ९ प्रतिशतमा झरे पनि २०८१/८२ मा ४ दशमलव १ प्रतिशत र २०८२/८३ मा ५ दशमलव ४ प्रतिशत पुगेको छ । तर बिक्री नै निरन्तर खस्किरहेको अवस्थामा नाफाको अनुपातमा आएको सुधारले कम्पनीको समग्र व्यापारिक कमजोरीलाई ढाक्न सकेको छैन । आपूर्ति र बिक्रीको समस्या कायमै रहेमा नाफाको यस्तो सुधार पनि टिकाउन कठिन हुने देखिन्छ ।

कम्पनीको ऋण भारसमेत स्थिर छैन । कुल ऋण र मूर्त खुद सम्पत्तिको अनुपात आर्थिक वर्ष २०७८/७९ मा १ दशमलव ७ गुणा रहेकोमा २०७९/८० मा १ दशमलव ३ गुणा भएको थियो । २०८०/८१ मा भने यस्तो अनुपात २ दशमलव ५ गुणासम्म पुगेको थियो । त्यसपछि २०८१/८२ मा १ गुणामा झरे पनि २०८२/८३ मा पुनः १ दशमलव ७ गुणा पुगेको छ । कुल बाह्य दायित्व र मूर्त खुद सम्पत्तिको अनुपात पनि २०७८/७९ को २ दशमलव २ गुणाबाट २०७९/८० मा ४ दशमलव ५ गुणासम्म पुगेको थियो । त्यसपछि क्रमशः २ दशमलव ७ गुणा र १ दशमलव २ गुणामा झरेको यस्तो अनुपात पछिल्लो वर्ष पुनः २ गुणामा पुगेको छ ।

कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ५८ करोड रुपैयाँ ऋणसमेत लिएको छ ।

सञ्चालन नाफाको तुलनामा ऋणको भार हेर्दा पनि कम्पनीमाथिको दबाब स्पष्ट हुन्छ । कुल ऋण र सञ्चालन नाफाको अनुपात २०७८/७९ मा २ दशमलव ८ गुणा तथा २०७९/८० मा २ दशमलव ३ गुणा रहेकोमा २०८०/८१ मा ७ गुणासम्म पुगेको थियो । २०८१/८२ मा २ दशमलव ७ गुणामा झरे पनि २०८२/८३ मा पुनः ५ गुणा पुगेको छ ।

अर्कोतर्फ नेपाली मोबाइल बजारमा प्रतिस्पर्धा अत्यन्तै तीव्र छ । साओमी, सामसुङलगायत स्थापित विश्वव्यापी ब्रान्डसँगै विभिन्न अन्य ब्रान्डले बजार ओगटेका छन् । ठूला ब्रान्डहरू मुख्यतः १० हजार रुपैयाँभन्दा माथिका मध्यमदेखि उच्च मूल्यका मोबाइलमा केन्द्रित भए पनि १० हजार रुपैयाँभन्दा कम मूल्यका स्मार्टफोन र सामान्य मोबाइलको बजारमा समेत दर्जनौँ ब्रान्डबीच प्रतिस्पर्धा छ । मूल्यप्रति अत्यन्त संवेदनशील नेपाली बजारमा यस्तो प्रतिस्पर्धाले अम्बे मोबाइलका लाभा र बेन्कोका मोबाइलको बिक्रीमा थप दबाब सिर्जना गरेको छ ।

नेपाली उपभोक्ताको मोबाइल रोजाइसमेत तीव्र रूपमा बदलिएको छ । आर्थिक वर्ष २०७५/७६ मा एउटा मोबाइलको औसत आयात मूल्य करिब ४ हजार ५०० रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०८२/८३ मा यस्तो मूल्य करिब २१ हजार ५०० रुपैयाँ पुगेको छ । यसको अर्थ उपभोक्ताको माग सामान्य र सस्तो मोबाइलबाट महँगा तथा उच्च क्षमताका मोबाइलतर्फ सर्दै गएको छ । यस्तो अवस्थामा कम्पनीले बदलिँदो मागअनुसार आफ्नो उत्पादन तथा बिक्री संरचना परिवर्तन गर्न नसकेकाले बजारमा थप पछि परेको देखिन्छ ।

मोबाइल प्रविधि अत्यन्तै छिटो परिवर्तन हुने भएकाले पुराना मोडल छिट्टै अप्रचलित हुने जोखिम पनि कम्पनीका लागि ठूलो समस्या बनेको छ । बजारमा नयाँ प्रविधि र नयाँ मोडल आइरहँदा मौज्दातमा रहेका पुराना मोबाइलको मूल्य घट्ने र त्यसले कम्पनीको नाफामा प्रत्यक्ष असर पार्ने अवस्था रहन्छ । बजारको मागअनुसार पर्याप्त नयाँ मोडल उपलब्ध गराउन नसक्दा कम्पनीको मौज्दातसमेत बिक्री नहुने जोखिम बढेको छ ।

त्यसमाथि चिप तथा स्मृति चिपको मूल्यसमेत बढ्ने दबाबमा छ । कृत्रिम बुद्धिमत्ता तथा अन्य प्रविधिसम्बन्धी उद्योगमा यस्ता सामग्रीको माग बढिरहेका कारण उत्पादन लागत बढ्न सक्ने अवस्था छ । विदेशी मुद्राको विनिमय दरमा प्रतिकूल परिवर्तन भए आयात लागत अझ बढ्न सक्छ । नेपाली बजार मूल्यप्रति संवेदनशील भएकाले बढेको लागत उपभोक्तामाथि पूर्ण रूपमा सार्न नसक्ने अवस्था आए कम्पनीको बिक्री परिमाण र सञ्चालन नाफा दुवै थप प्रभावित हुन सक्छन् ।

अम्बे मोबाइलका लागि समस्या आपूर्ति र बजार प्रतिस्पर्धामा मात्रै सीमित देखिँदैन । कम्पनीका मोबाइल प्रयोग गरेका उपभोक्ताबाट उत्पादनको गुणस्तर र प्रयोग अनुभवप्रति समेत गुनासा सार्वजनिक हुँदै आएका छन् । बेन्को मोबाइल प्रयोगकर्ताले मोबाइल चार्ज नहुने, अनुप्रयोग चलाउँदा अकस्मात बन्द हुने, पर्दा फुट्ने तथा प्रणालीमा समस्या आउनेजस्ता गुनासा गर्ने गरेका छन् । यस्ता गुनासाले कम्पनीका उत्पादनप्रति उपभोक्ताको विश्वास कमजोर बनाउने जोखिम बढाएको छ ।

कम्पनीले वारन्टी सुविधा र सेवा केन्द्रको सञ्जाल रहेको दाबी गरे पनि सेवा लिन सहज नभएको, मोबाइल मर्मतमा ढिलाइ हुने तथा आवश्यक पार्टपुर्जा उपलब्ध नहुनेजस्ता गुनासा उपभोक्ताबाट आउने गरेका छन् । सेवा केन्द्रको सीमित पहुँच र मर्मत प्रक्रियामा हुने ढिलाइले नयाँ मोबाइल खरिद गर्न खोज्ने ग्राहकलाई समेत प्रभावित पार्न सक्ने अवस्था देखिएको छ ।

सामान्य प्राविधिक समस्या आएमा मोबाइल पुनः सुरु गर्ने, भण्डारण खाली गर्ने वा प्रणाली पुनःस्थापना गर्ने उपाय सुझाइने गरे पनि गम्भीर समस्या भएका प्रयोगकर्ताका लागि यस्ता सामान्य उपाय पर्याप्त नहुने देखिएको छ । चार्जिङ पोर्ट बिग्रिने, पर्दा फुट्ने, प्रणालीमा त्रुटि आउने तथा अन्य प्राविधिक समस्या समाधानमा उपभोक्ताले सहज सेवा नपाउँदा असन्तुष्टि बढेको छ । यस्तो अनुभवले लाभा र बेन्कोको ब्रान्ड छविमाथि समेत दबाब सिर्जना गरेको छ ।

कम्पनीमा शोभाकर न्यौपानेको करिब ८३ प्रतिशत र पूर्णभद्र पौड्यालको करिब १७ प्रतिशत स्वामित्व रहेको छ। एम्बे समूह नेपालमा घरजग्गा, उत्पादन तथा व्यापारलगायत विभिन्न क्षेत्रमा संलग्न स्थापित व्यावसायिक समूहका रूपमा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*