राष्ट्र बैंकले छाप्दै ४० करोड थान एक रुपैयाँका सिक्का

१८ आश्विन २०८३, आईतवार ०९:३२

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले एक रुपैयाँ अंकित मूल्यका ४० करोड थान सिक्का उत्पादनका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। राष्ट्र बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभागले सिक्काको डिजाइनदेखि उत्पादन, आपूर्ति र ढुवानीसम्मको जिम्मेवारी समेटेर बोलपत्र प्रक्रिया अघि बढाएको हो।

बोलपत्रमा राष्ट्र बैंकबाट यसअघि प्राविधिक तथा अन्य आवश्यक मापदण्ड पूरा गरी योग्य सूचीमा परेका विदेशी सुरक्षा मुद्रण तथा सिक्का उत्पादन कम्पनीले मात्र सहभागिता जनाउन पाउनेछन्। योग्य कम्पनीहरूको सूचीमा चीनको चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन, बेलायतको डि ला रुउ इन्टरनेसनल, जर्मनीको गिसिके एन्ड डेभ्रियन्ट करेन्सी टेक्नोलोजी, रुसको जोइन्ट स्टक कम्पनी, फ्रान्सको अबरथर फिड्युसेरी एसएएस र पोल्यान्डको पोलिस सेक्युरिटिज प्रिन्टिङ रहेका छन्।

राष्ट्र बैंकले बोलपत्रसम्बन्धी कागजात प्राप्त गर्न २० हजार रुपैयाँ शुल्क निर्धारण गरेको छ। इच्छुक कम्पनीका प्रतिनिधिका लागि अक्टोबर १५ मा दिउँसो १२ बजे पूर्वबोलपत्र बैठक आयोजना हुनेछ। बोलपत्र बुझाउने अन्तिम म्याद नोभेम्बर ३ गते दिउँसो १२ बजेसम्म तोकिएको छ। प्राप्त बोलपत्र सोही दिन दिउँसो १ बजे खोलिनेछ।

प्रतिस्पर्धामा सहभागी हुन कम्पनीहरूले कम्तीमा १ लाख ४८ हजार अमेरिकी डलरबराबरको बोलपत्र जमानत पेश गर्नुपर्नेछ। बोलपत्र १२० दिनसम्म मान्य रहनेछ भने जमानतको अवधि बोलपत्रको वैधता सकिएपछि थप ३० दिन कायम रहनुपर्ने व्यवस्था गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*