५० एमबीपीएसभन्दा कमका इन्टरनेट प्याकेज बन्द हुँदै

काठमाडौं । नेपालमा इन्टरनेट सेवा प्रयोग गर्ने ग्राहकले अब पहिलेको तुलनामा बढी शुल्क तिर्नुपर्ने देखिएको छ। इन्टरनेट सेवा प्रदायकहरूले ५० एमबीपीएसभन्दा कम गतिको इन्टरनेट प्याकेज बिक्री नगर्ने निर्णय गरेपछि न्यून मूल्यमा उपलब्ध हुँदै आएका प्याकेज हट्ने भएका हुन्।
इन्टरनेट सेवा प्रदायकहरूको छाता संगठन इन्टरनेट सर्भिस प्रोभाइडर्स एसोसिएसन अफ नेपाल (इस्पान) ले आगामी असोज १९ गतेदेखि ५० एमबीपीएसभन्दा कम क्षमताका प्याकेज बिक्री नगर्ने जनाएको छ। यससँगै हाल बजारमा रहेका साना तथा सस्ता इन्टरनेट प्याकेज क्रमशः हट्नेछन्।
इस्पानका अनुसार विगतमा ग्राहक आकर्षित गर्ने प्रतिस्पर्धाका क्रममा स्वीकृत शुल्कभन्दा कम दरमा समेत विभिन्न प्याकेज बिक्री हुँदै आएका थिए। तर, पछिल्लो समय सेवा सञ्चालनमा लाग्ने खर्च बढ्दै गएपछि न्यून मूल्यमा त्यस्ता प्याकेजलाई निरन्तरता दिन कठिन भएको संगठनको भनाइ छ।
अब सेवा प्रदायकहरूले नेपाल दूरसञ्चार प्राधिकरणबाट स्वीकृत शुल्कअनुसार मात्र इन्टरनेट सेवा बिक्री गर्नुपर्ने । यसबाट इन्टरनेटको न्यूनतम मूल्य निर्धारण हुनुका साथै सेवाको गुणस्तरमा समेत सुधार आउने अपेक्षा गरिएको छ।











