गार्मेन्ट उद्योगमा लाइन जोड्न ५० हजार घुस, इन्जिनियर यादवविरुद्ध भ्रष्टाचार मुद्दा

१९ आश्विन २०८३, सोमबार १६:२१

काठमाडौँ । सुनसरीको इटहरी उपमहानगरपालिका–८ स्थित नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र, इटहरीमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

गार्मेन्ट उद्योगमा २० केभिएको विद्युत् लाइन जडानका लागि सहजीकरण गरिदिने भन्दै यादवले सेवाग्राहीसँग घुस मागेको भन्ने सूचना तथा उजुरीका आधारमा अख्तियारको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले उनलाई ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

अनुसन्धानका क्रममा यादवले आफ्नो पद तथा जिम्मेवारीअनुसार सेवाग्राहीको उद्योगमा विद्युत् लाइन जडान गर्नुपर्ने काममा बदनियतपूर्ण ढंगले ढिलासुस्ती गरी अनावश्यक दुःख–हैरानी दिएको र सेवाग्राहीलाई घुस दिन बाध्य बनाएको अख्तियारले जनाएको छ।

विद्युत् लाइन जडान तथा उक्त कार्यमा सहजीकरण गरेबापत यादवले ५० हजार रुपैयाँ घुस माग गरी लिएको पुष्टि भएको भन्दै अख्तियारले उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो ५० हजार रुपैयाँ कायम गरेको छ।

अख्तियारले यादवलाई सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद तथा दफा ३ को उपदफा (१) बमोजिम बिगोबराबर जरिवाना सजायको मागदाबी गर्दै आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*