४६ लाख ३७ हजार बराबरको अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरका विभिन्न देशका अवैध मुद्रासहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्।
क्याथे प्यासिफिक एयरवेजमार्फत हङकङ जान लागेका ७२ वर्षीय चिनियाँ नागरिक सुओलाङलाई प्रहरीले पक्राउ गरेको हो। विमानस्थलमा नियमित सुरक्षा जाँचका क्रममा उनको साथ तथा लगेजबाट नेपाली रुपैयाँसहित विभिन्न देशका मुद्रा फेला परेपछि उनलाई नियन्त्रणमा लिइएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।
विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार बरामद मुद्राको स्रोत तथा प्रयोजनबारे आवश्यक अनुसन्धान गर्नुपर्ने देखिएपछि सुओलाङलाई मुद्रासहित नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार उनको साथबाट नेपाली ११ लाख ८६ हजार रुपैयाँ, चिनियाँ युआन ५१ हजार ७९०, अमेरिकी डलर ५ हजार ९६५, हङकङ डलर ४९ हजार ९९०, युरो २ हजार ६० र अस्ट्रेलियन डलर ५० बरामद भएको छ।
पक्राउ परेका सुओलाङलाई थप अनुसन्धान तथा प्रचलित कानुनबमोजिम आवश्यक कानुनी कारबाहीका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, हरिहर भवन, पुल्चोक, ललितपुर पठाइएको प्रहरीले जनाएको छ।











