एनआईसी एशिया इक्वीटी अपोर्चुनिटी फण्डको इकाई बाँडफाँड सम्पन्न

२२ आश्विन २०८३, बिहीबार १०:२०

काठमाडौं । एनआईसी एशिया क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको एनआईसी एशिया इक्वीटी अपोर्चुनिटी फण्डको इकाई बाँडफाँड सम्पन्न भएको छ। ८० करोड रुपैयाँको आकारमा निष्काशन गरिएको योजनामा मागभन्दा बढी आवेदन परेपछि यसको आकार बढाएर १ अर्ब रुपैयाँ कायम गरिएको छ।

फण्डले प्रतिइकाई १० रुपैयाँका दरले कुल ८ करोड इकाई निष्काशन गरेको थियो। त्यसमध्ये १५ प्रतिशत अर्थात् १ करोड २० लाख इकाई फण्डको प्रवद्र्धक एनआईसी एशिया बैंकका लागि छुट्याइएको थियो। बाँकी ६ करोड ८० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरिएको थियो।

इकाई खरिदका लागि पहिलो चार कार्यदिनमै मागभन्दा बढी आवेदन परेपछि बिक्री अवधि अगावै बन्द गरिएको थियो। निष्काशन अवधिमा ४१ हजार १८९ आवेदकबाट कुल ८ करोड ७४ लाख ४४ हजार २०० इकाईका लागि आवेदन परेको थियो। यो माग गरिएको इकाईभन्दा १.२९ गुणा बढी हो।

आवेदन रुजु गर्दा ४७ आवेदकबाट परेको ६ हजार २०० इकाईको आवेदन रद्द भएपछि ४१ हजार १४३ आवेदकबाट कुल १ अर्ब २ करोड ४३ लाख ७९ हजार रुपैयाँ बराबरको इकाई खरिदका लागि योग्य आवेदन कायम भएको थियो। मागभन्दा बढी आवेदन परेकाले स्वीकृत विवरणअनुसार फण्डको आकार २५ प्रतिशतसम्म बढाउन सकिने व्यवस्था प्रयोग गर्दै योजना आकार ८० करोडबाट बढाएर १ अर्ब रुपैयाँ कायम गरिएको हो।

बाँडफाँडमा १०० इकाईदेखि ३० लाख इकाईसम्म माग गर्ने योग्य आवेदकलाई माग गरेअनुसार इकाई दिइएको छ। यस्तै ४० लाखदेखि ५० लाख इकाईसम्म माग गर्ने आवेदकलाई प्रतिआवेदक ३८ लाख ९० हजार ५२५ इकाईका दरले बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ। इकाई बाँडफाँडको नतिजा एनआईसी एशिया क्यापिटलको वेबसाइट तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट सञ्चालन हुने वेबसाइटमार्फत हेर्न सकिनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*