‘सुदूर अब दूर नाइँ’ भन्दै भोट मागेका बालेनलाई २२ हजारको महँगो हवाई भाडाले गिज्याउँदै

२२ आश्विन २०८३, बिहीबार १३:२३

काठमाडौं । गत फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा हालका प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ सुदूरपश्चिमका नौवटै जिल्ला पुगे । चुनावी अभियानका क्रममा उनले सुदूरपश्चिमको भूगोल, जनजीवन र नागरिकसँग नजिकिने प्रयास गरे । त्यही क्रममा उनले सामाजिक सञ्जालमा लेखेको एउटा वाक्य अहिले फेरि चर्चामा आएको छ– ‘सुदूर अब दूर नाइँ, झिक्कै झिक्कै माया तम्लाई।’

त्यतिबेला सुदूरपश्चिमका नागरिकसँग भावनात्मक सम्बन्ध स्थापित गर्ने प्रयासका रूपमा हेरिएको उक्त अभिव्यक्ति अहिले भने परिस्थितिले नै गिज्याइरहेको जस्तो देखिएको छ । कारण हो– दशैंको मुखमा सुदूरपश्चिम फर्किन खोजिरहेका नागरिकले भोग्नुपरेको महँगो यातायात र विशेषगरी आकाशिएको हवाई भाडा ।

चाडपर्व नजिकिँदै गर्दा राजधानी काठमाडौंमा रहेका नागरिक घर फर्किन थालेका छन् । वर्षभरि रोजगारी, अध्ययन तथा विभिन्न कामका लागि राजधानीमा बस्ने सुदूरपश्चिमका नागरिकका लागि दशैं परिवारसँग भेटघाट गर्ने महत्वपूर्ण अवसर हो । तर यसपटक घर फर्किने यात्रुका लागि दशैंको यात्रा सहजभन्दा बढी आर्थिक बोझको यात्रा बन्न थालेको छ ।

काठमाडौं–धनगढी हवाई यात्राको भाडा अहिले २२ हजार १८० रुपैयाँसम्म पुगेको छ । केही समयअघिसम्म करिब १० हजार रुपैयाँ आसपासमा पाइने गरेको टिकट दशैं नजिकिएसँगै दोब्बरभन्दा बढीको हाराहारीमा पुगेपछि यात्रुहरू आश्चर्य र आक्रोशमा छन् । आफ्नै देशको एउटा कुनामा पुग्नका लागि यति ठूलो रकम खर्च गर्नुपर्ने अवस्था आएपछि सुदूरपश्चिमका नागरिकले सरकारको भूमिका र हवाई सेवा सञ्चालन गर्ने कम्पनीहरूको कार्यशैलीमाथि प्रश्न उठाउन थालेका छन् ।

अझ विडम्बनापूर्ण अवस्था त काठमाडौं–धनगढीको हवाई भाडा भारतका विभिन्न सहर पुग्न लाग्ने खर्चभन्दा पनि महँगो देखिनु हो । अहिले काठमाडौं–नयाँ दिल्लीको हवाई भाडा करिब १३ हजार रुपैयाँ आसपासमा रहेको अवस्थामा काठमाडौं–धनगढीको टिकट २२ हजार १८० रुपैयाँसम्म पुग्नुले नेपालको आन्तरिक हवाई सेवाको मूल्य प्रणालीमाथि नै प्रश्न उठाएको छ ।

अर्थात् नेपाली नागरिकलाई आफ्नै देशको सुदूरपश्चिम पुग्नभन्दा छिमेकी देश भारतको राजधानी नयाँ दिल्ली पुग्न सस्तो पर्ने अवस्था सिर्जना भएको छ । यस्तो तुलना आफैंमा अस्वाभाविक देखिन्छ । यही अवस्थाले प्रधानमन्त्री बालेन्द्र शाहले चुनावी अभियानका क्रममा लेखेको ‘सुदूर अब दूर नाइँ’ भन्ने अभिव्यक्तिलाई सामाजिक सञ्जालदेखि आम नागरिकको छलफलसम्म पुनः ल्याएको हो ।

चुनावका बेला सुदूरपश्चिमका नौवटै जिल्ला पुगेर मत मागेका बालेनले त्यहाँका नागरिकसँग निकटताको सन्देश दिएका थिए । सुदूरपश्चिमलाई काठमाडौंको सत्ता र राजनीतिको केन्द्रबाट टाढाको भूगोल मात्र नभई विकास र अवसरका हिसाबले पनि नजिक ल्याउने अपेक्षा नागरिकमा जागेको थियो । तर निर्वाचनपछि सरकार सञ्चालनको जिम्मेवारीमा पुगेको नेतृत्वकै समयमा दशैंमा घर फर्किने नागरिकले टिकटको मूल्यका कारण यात्रा गर्न डराउनुपर्ने अवस्था आएपछि प्रश्न उठेको हो– ‘सुदूर अब दूर नाइँ’ भन्ने कुरा आखिर व्यवहारमा कहिले देखिने ?

सुदूरपश्चिमका लागि दूरी केवल काठमाडौं र धनगढीबीचको किलोमिटरमा सीमित छैन । कमजोर सडक, सीमित हवाई सेवा, महँगो टिकट, पूर्वाधारको अभाव र राज्यको कमजोर उपस्थिति पनि सुदूरपश्चिमका नागरिकले वर्षौंदेखि भोग्दै आएको दूरी हो । राजनीतिक नेतृत्वले भाषण र चुनावी अभियानमा त्यो दूरी घटाउने प्रतिबद्धता जनाए पनि व्यवहारमा नागरिकले अझै उस्तै कठिनाइ भोगिरहेका छन् ।

दशैंको मुखमा अहिले यो समस्या झनै गम्भीर बनेको छ ।

सुदूरपश्चिमसम्म पुग्ने प्रमुख सडकमार्गहरू धेरै ठाउँमा अवरुद्ध छन् । कतिपय स्थानमा सडकको अवस्था जोखिमपूर्ण छ । पहिरो, वर्षा र सडक बिग्रिएका कारण यात्रुहरूलाई कति बेला कहाँ अवरोध आउने हो भन्ने चिन्ता छ । लामो दूरीको यात्रा आफैंमा कठिन हुने भएकाले परिवारसहित यात्रा गर्ने नागरिकले थप जोखिम मोल्नुपर्ने अवस्था छ । यस्तो परिस्थितिमा हवाई यात्रा सहज विकल्प हुनुपर्ने हो । तर हवाई टिकटको मूल्य नै यात्रुका लागि अर्को ठूलो समस्या बनेको छ । सडकमार्गबाट जाँदा लामो समय र जोखिम, हवाईमार्गबाट जाँदा अत्यधिक खर्च । सुदूरपश्चिमका नागरिक अहिले यही दोहोरो समस्याको बीचमा छन् ।

काठमाडौं–धनगढी सडक यात्राको भाडा करिब ३ हजार ५ सय रुपैयाँ आसपास रहे पनि सडकको अवस्थाका कारण सबै यात्रुका लागि त्यो सहज विकल्प बन्न सकेको छैन । लामो दूरी, यात्रा अवधि, सडकको जोखिम र परिवारसहित यात्रा गर्नुपर्ने बाध्यताले कतिपय यात्रु हवाई सेवा रोज्न बाध्य छन् । तर हवाई टिकटको मूल्य २२ हजार रुपैयाँभन्दा माथि पुगेपछि सामान्य आम्दानी भएका नागरिकका लागि हवाई यात्रा कल्पनाभन्दा बाहिर पुग्न थालेको छ ।

बाजुराका शैलेन्द्र उपाध्यायका अनुसार बसबाट घर पुग्दा पनि यात्राको कुल खर्च उल्लेख्य हुन्छ । उनले अहिलेको अवस्थाप्रति आक्रोश व्यक्त गर्दै भनेका छन्, “बस टिकट ६ हजारसम्म, खाना गरेर ७–९ हजार पुग्छ । सरकार रमिता देखाइरहेको छ ।”

डोटीका रोहित विष्ट पनि सरकारको प्राथमिकतामाथि प्रश्न उठाउँछन् । उनका अनुसार सुदूरपश्चिमका जनतालाई अझै पनि राज्यले केन्द्रबाट टाढै राखेको अनुभूति हुन्छ । उनी भन्छन्, “सरकारले सुदूरका जनतालाई अहिले पनि पर नै राख्ने गरेको छ ।”

चुनावी समयमा सुदूरपश्चिमका गाउँ–गाउँ पुगेर नागरिकसँग संवाद गर्ने र मत माग्ने राजनीतिक नेतृत्वले सत्ता सञ्चालनमा आएपछि त्यहाँका नागरिकको दैनिक जीवनसँग जोडिएका समस्यालाई पनि प्राथमिकतामा राख्नुपर्ने यात्रुहरूको अपेक्षा छ । सडक र यातायात त्यसको सबैभन्दा महत्वपूर्ण पक्ष हो ।

कैलालीका राजेन्द्र मौन पनि नयाँ सरकारप्रति निराश देखिन्छन् । नयाँ सरकार आएपछि सुदूरपश्चिमका समस्या समाधानमा केही ठोस पहल हुने अपेक्षा भए पनि त्यसअनुसारको परिवर्तन महसुस गर्न नसकिएको उनको गुनासो छ । उनी नयाँ सरकारले समेत केही गर्न नसकेकोमा दुःख व्यक्त गर्छन् ।

नागरिकको गुनासो केवल हवाई टिकट महँगो भएको विषयमा सीमित छैन । उनीहरूको प्रश्न राज्यको नियमनकारी भूमिकामाथि पनि हो । यात्रुको चाप बढ्ने कुरा हरेक वर्ष दशैंमा पहिल्यै थाहा हुने विषय हो । चाडपर्वको समयमा देशका विभिन्न भागमा जाने यात्रुको संख्या बढ्छ भन्ने कुरा सरकार र सम्बन्धित निकायलाई जानकारी हुन्छ । त्यसअनुसार पर्याप्त यातायात व्यवस्था गर्ने, अतिरिक्त उडान थप्ने, टिकट वितरणलाई व्यवस्थित बनाउने र अस्वाभाविक मूल्यवृद्धि भए नभएको अनुगमन गर्ने जिम्मेवारी पनि राज्यकै हो ।

तर दशैंको मुखमा हवाई भाडा यति धेरै बढिसक्दा समेत सरकारको तर्फबाट प्रभावकारी हस्तक्षेप नदेखिएको यात्रुहरूको गुनासो छ । महँगो टिकटको मारमा परेका नागरिकले सरकारसँग जवाफ मागिरहेका छन् ।

हवाई कम्पनीहरूले भने यात्रुको माग, उपलब्ध सिट, सञ्चालन लागत तथा चाडपर्वको समयमा बढ्ने चापलाई मूल्य निर्धारणसँग जोड्ने गर्छन् । तर केही समयअघिसम्म १० हजार रुपैयाँ आसपासमा पाइने टिकट छोटो समयमै २२ हजार १८० रुपैयाँसम्म पुग्नु स्वाभाविक बजार प्रक्रियाभित्र पर्छ कि पर्दैन भन्ने प्रश्न उठेको छ ।

चुनावका बेला सुदूरपश्चिम पुगेर ‘सुदूर अब दूर नाइँ’ भन्ने भाव व्यक्त गर्नु र त्यहाँका नागरिकलाई आफ्नो राजनीतिक यात्राको केन्द्रमा राख्नु सकारात्मक कुरा हो । तर त्यसको वास्तविक परीक्षा चुनावी भाषण वा सामाजिक सञ्जालको स्टाटसमा होइन नागरिकले दैनिक जीवनमा अनुभूति गर्ने परिवर्तनमा हुन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*