नेप्सेमा सामान्य सुधार, कारोबार ३ अर्ब ९३ करोडभन्दा बढी

काठमाडौं । शेयर बजारमा आज बिहीबार सामान्य सुधार देखिएको छ। नेप्से परिसूचक २.३१ अंकले बढेर २ हजार ५७४.६५ विन्दुमा पुगेको छ। अघिल्लो कारोबारको तुलनामा नेप्से ०.०८ प्रतिशतले बढेको हो।
बिहीबार बजार खुलेदेखि नै नेप्सेमा उतारचढाव देखिएको थियो। कारोबारका क्रममा केही समय बजार तल झरे पनि अन्तिमतिर खरिद चाप बढ्दा परिसूचक सामान्य अंकले बढेर बन्द भएको हो। यद्यपि वृद्धि निकै सानो भएकाले बजारमा ठूलो सुधार आएको भन्न सकिने अवस्था भने देखिएको छैन।
आज कुल ३ अर्ब ९३ करोड ५ लाख ६० हजार रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। दिनभर ४३ हजार ८१२ पटक कारोबार हुँदा १ करोड १२ लाख ३३ हजार ६३६ कित्ता शेयर किनबेच भएका छन्। आज कुल ३५४ कम्पनीका शेयर कारोबार भएका छन्।
कारोबार भएका कम्पनीमध्ये १४० कम्पनीको शेयर मूल्य बढेको छ। त्यस्तै १२७ कम्पनीको शेयर मूल्य घटेको छ भने ११ कम्पनीको मूल्य यथावत रहेको छ।











