सडक विवादले सौर्य सिमेन्टको चुनढुंगा ढुवानी ठप्प

२३ आश्विन २०८३, शुक्रबार १०:३२

काठमाडौँ ।  उदयपुरको कटारी नगरपालिका–८ गाल्टारस्थित खानीबाट सौर्य सिमेन्टका लागि हुँदै आएको चुनढुंगा ढुवानी स्थानीय र टिपर व्यवसायीबीचको विवादका कारण ठप्प भएको छ । खानीसम्म पुग्ने कटारी–सिम्ले–मर्जेपुर–गाल्टार सडकमा दुर्घटनाको जोखिम बढेको भन्दै स्थानीयले टिपर सञ्चालनमा रोक लगाएपछि ढुवानी प्रभावित भएको हो ।

स्थानीयले बस्ती हुँदै जाने सडकको सट्टा वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने माग गरेका छन् भने टिपर व्यवसायीले वैकल्पिक सडक नबन्दासम्म पुरानै मार्गबाट ढुवानी गर्न पाउनुपर्ने अडान राखेका छन् ।

ढुवानी रोकिएपछि टिपर व्यवसायीले सिद्धिचरण लोकमार्ग र मदन भण्डारी लोकमार्गमा टिपर तेर्साएर विरोध प्रदर्शन गरेका थिए । बुधबार कटारी नगरपालिका–४ स्थित सिम्ले बजार क्षेत्रमा टायर बालेर प्रदर्शन गरिएको थियो भने बिहीबार कटारी बजार खण्डमा करिब दुई घण्टा मदन भण्डारी लोकमार्ग अवरुद्ध पारिएको थियो । सडक अवरोधका कारण यातायातसमेत प्रभावित भएको थियो । स्थानीयको विरोध र व्यवसायीको आन्दोलनले चुनढुंगा ढुवानीसँगै सडक प्रयोगको विषयलाई थप विवादित बनाएको छ ।

सौर्य सिमेन्टले सुरुमा कटारी–मरुवाखोला–नैनखाडी–गाल्टार सडक प्रयोग गर्ने योजना बनाए पनि स्थानीयको सहमतिपछि सिम्ले–मर्जेपुर–गाल्टार मार्गबाट ढुवानी गर्दै आएको थियो । पछिल्लो समय मर्जेपुर क्षेत्रका स्थानीयले बस्ती हुँदै जाने सडकमा टिपर चलाउन नदिने अडान लिएपछि विवाद चर्किएको हो । उक्त सडकलाई १८ मिटर चौडा बनाउने योजनासमेत विवाद र प्रक्रियागत समस्याका कारण अघि बढ्न सकेको छैन । खानी क्षेत्र र ढुवानी मार्ग आसपासका बासिन्दाले सुरक्षित तथा व्यवस्थित वैकल्पिक सडकको माग गरिरहेका छन् भने ढुवानी व्यवसायीले लामो समयसम्म काम रोकिँदा आर्थिक दायित्व बढ्ने चिन्ता व्यक्त गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*