अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले बजारबाट ७० अर्ब खिच्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न ७० अर्ब रुपैयाँ बजारबाट खिच्ने भएको छ । केन्द्रीय बैंकले शुक्रबार असोज २३ गते ६१ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत उक्त रकम संकलन गर्न लागेको हो ।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार निक्षेप संकलन उपकरणको बोलकबोल आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत हुनेछ । उपकरणको निष्कासन पनि आजै हुनेछ भने साँवा तथा ब्याज भुक्तानी आगामी मंसिर २३ गते गरिनेछ ।
निक्षेप संकलन उपकरणको बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाले मात्रै सहभागी हुन पाउनेछन् । सहभागी संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम ७० अर्ब रुपैयाँसम्म आवेदन दिन सक्नेछन् । आवेदन रकम १० करोड रुपैयाँले भाग जाने गरी हुनुपर्नेछ ।
यस उपकरणको ब्याजदर बोलकबोलमार्फत निर्धारण हुनेछ । बैंक तथा वित्तीय संस्थाले विभिन्न ब्याजदरमा समेत बोल गर्न सक्नेछन् । बाँडफाँड गर्दा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने बोलकर्तालाई पहिलो प्राथमिकतामा राखिने राष्ट्र बैंकले जनाएको छ ।
समान ब्याजदरमा प्राप्त बोल रकम कुल आह्वान रकमभन्दा बढी भएमा समानुपातिक अर्थात् प्रो–राटा आधारमा बाँडफाँड गरिनेछ ।











