डिजिटल फाइनान्स इनोभेसन हबमा ५० फिनटेक, डिजिटल कर्जा र भुक्तानीमा नवप्रवर्तनको होड

काठमाडौँ । नेपालमा डिजिटल वित्तीय सेवा तथा वित्तीय प्रविधिको क्षेत्रमा नयाँ सोच र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले सञ्चालनमा ल्याएको डिजिटल वित्तीय नवप्रवर्तन केन्द्रमा ५० वटा प्रवर्द्धक तथा संस्था आबद्ध भएका छन्। केन्द्रीय बैंकको भुक्तानी प्रणाली विभागअन्तर्गतको भुक्तानी अनुसन्धान तथा विकास एकाइले हालै सार्वजनिक गरेको सन् २०२६ को प्रभाव प्रतिवेदनअनुसार केन्द्रले विभिन्न ५० वटा वित्तीय प्रविधिसम्बन्धी अवधारणा तथा संस्थासँग प्रत्यक्ष सहकार्य र प्राविधिक परामर्श गरेको हो।
वित्तीय प्रविधिको क्षेत्रमा काम गरिरहेका नवप्रवर्तनकर्तालाई विद्यमान कानुन, नीति तथा नियमबारे जानकारी गराउने, उनीहरूका उत्पादनलाई जिम्मेवार ढङ्गले विकास गर्न नियामकीय मार्गदर्शन उपलब्ध गराउने र भविष्यमा नीति निर्माणका लागि केन्द्रीय बैंकलाई सुझाव दिने उद्देश्यले यो केन्द्र सञ्चालनमा ल्याइएको हो।
प्रतिवेदनअनुसार केन्द्रमा आबद्ध संस्थामध्ये सबैभन्दा ठूलो हिस्सा कुनै पनि नियामकीय निकायबाट अनुमतिपत्र नलिएका नयाँ वित्तीय प्रविधि कम्पनीको रहेको छ। कुल संस्थामध्ये ६० प्रतिशत अर्थात् ३० वटा कम्पनीले बजारमा आफ्ना उत्पादन ल्याउनुअघि नै केन्द्रीय बैंकबाट नीतिगत स्पष्टता खोजेका छन्।
यसैगरी, केन्द्रमा आठ वटा अनुमतिप्राप्त भुक्तानी प्रणाली सञ्चालक, चार वटा इजाजतप्राप्त बैंक तथा वित्तीय संस्था, तीन वटा भुक्तानी सेवा प्रदायक र तीन जना व्यक्तिगत नवप्रवर्तनकर्ता आबद्ध छन्। त्यस्तै, एउटा अनुमतिप्राप्त विप्रेषण कम्पनी र एउटा बैंक तथा भुक्तानी सेवा प्रदायकको संयुक्त साझेदारी समूहले पनि केन्द्रमार्फत नियामकीय परामर्श लिएका छन्।
केन्द्रमा दर्ता भएका नवप्रवर्तनका अवधारणामध्ये भुक्तानी प्रणाली र डिजिटल कर्जा प्रमुख आकर्षणका रूपमा देखिएका छन्। प्रतिवेदनअनुसार १२ वटा अवधारणा भुक्तानी प्रणालीसँग सम्बन्धित छन् भने ११ वटा अवधारणा डिजिटल माध्यमबाट कर्जा प्रवाह गर्ने विषयमा केन्द्रित छन्। त्यस्तै, सात वटा अवधारणा ग्राहकको वित्तीय पृष्ठभूमि र जोखिम मूल्याङ्कन गर्ने प्रणालीसँग सम्बन्धित छन्।
यसैगरी, पाँच वटा अवधारणा एकीकृत वित्तीय सेवा र चार वटा खुला बैंकिङ तथा वित्तीय सेवासँग सम्बन्धित छन्। नियामकीय प्रविधिसम्बन्धी तीन वटा, डिजिटल माध्यमबाट ग्राहक पहिचान तथा आबद्धतासम्बन्धी दुई वटा, डिजिटल पहिचानसम्बन्धी एउटा र डिजिटल वित्तीय सेवालाई सहयोग गर्ने प्राविधिक समाधानसम्बन्धी एउटा अवधारणा रहेका छन्। बाँकी चार वटा अवधारणा सम्पत्ति व्यवस्थापन प्रविधि, विज्ञापन प्रणाली तथा डिजिटल व्यापार बजारसँग सम्बन्धित छन्।
नवप्रवर्तनका विकास चरणलाई हेर्दा केन्द्रमा आबद्ध ५० मध्ये २० वटा अर्थात् ४० प्रतिशत बजारमा लैजान तयार अवस्थामा पुगेका छन्। सात वटा नवप्रवर्तन परीक्षण सञ्चालन गर्न तयार छन् भने चार वटाको नमुना तयार भइसकेको छ। त्यस्तै, सात वटा विकासको क्रममा, आठ वटा अवधारणात्मक चरणमा र तीन वटा निकट भविष्यमा निर्माण गर्ने योजनामा छन्। एउटा नवप्रवर्तन भने सीमित प्रयोगकर्ता समूहमा परीक्षण भइरहेको प्रतिवेदनमा उल्लेख छ।
केन्द्रले नवप्रवर्तनकर्तालाई सहयोग गर्न पाँच चरणको संरचित प्रक्रिया अपनाउँदै आएको छ। प्रारम्भिक सम्पर्कपछि सचिवालयबाटै स्पष्टता दिन सकिने विषयमा तत्काल जानकारी उपलब्ध गराइन्छ। थप छलफल आवश्यक पर्ने प्रस्ताव दर्ता, प्रारम्भिक मूल्याङ्कन, प्रस्तुतीकरण तथा प्रदर्शन हुँदै गैरबाध्यकारी नियामकीय मार्गदर्शनको चरणमा पुग्छन्।
प्रतिवेदन सार्वजनिक हुँदासम्म केन्द्रले १४ वटा नवप्रवर्तनसम्बन्धी विषयमा नियामकीय स्पष्टता प्रदान गरेको छ। त्यस्तै, २० वटा समूहसँग प्रारम्भिक छलफल गरिएको छ भने विस्तृत मूल्याङ्कनका लागि पेस भएका नौ वटा प्रस्ताव समीक्षामा छन्। जटिल प्रकृतिका तीन वटा नवप्रवर्तनलाई केन्द्रस्तरीय छलफलपछि नियामकीय मार्गदर्शन प्रदान गरिएको छ।
नयाँ प्रविधि सञ्चालनमा ल्याउन विद्यमान नीति तथा नियममा संशोधन आवश्यक देखिएका विषयमा केन्द्रले राष्ट्र बैंकका सम्बन्धित विभागलाई तीन वटा नीतिगत सुझावसमेत पठाएको छ। यसका अतिरिक्त तीन वटा समूहबाट औपचारिक प्रस्ताव आउन बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ।











