सिद्धार्थ बैंकको २० प्रतिशत लाभांश पारित

२८ आश्विन २०८३, बुधबार १६:०३

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको बुधबार सम्पन्न २५औँ वार्षिक साधारण सभाले १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको हो ।

बैंकका सञ्चालक समिति अध्यक्ष राहुल अग्रवालको अध्यक्षतामा काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न सभाले उक्त प्रस्ताव पारित गरेको हो ।

बैंकको हाल कायम साधारण सेयरतर्फको चुक्ता पुँजी १४ अर्ब ७९ करोड ४४ लाख ७९ हजार १९५ रुपैयाँको १० प्रतिशत अर्थात् १ अर्ब ४७ करोड ९४ लाख ४७ हजार ९२० रुपैयाँ बराबरको बोनस सेयर जारी गरिनेछ ।

त्यस्तै, बैंकले सोही चुक्ता पुँजीको १० प्रतिशतका दरले १ अर्ब ४७ करोड ९४ लाख ४७ हजार ९२० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ । बैंकका अनुसार नगद लाभांशमा बोनस सेयर तथा नगद लाभांशमा लाग्ने कर प्रयोजनका लागि आवश्यक रकमसमेत समावेश गरिएको छ ।

सभाले बैंकको अविमोच्य असञ्चिति अग्राधिकार सेयरधनीलाई ८.२५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत पारित गरेको छ । अग्राधिकार सेयरतर्फको ३ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजीका आधारमा १० करोड ७५ लाख ८९ हजार ४१ रुपैयाँ लाभांश वितरण गरिने बैंकले जनाएको छ । उक्त लाभांश सेयर बाँडफाँड भएको मितिदेखि २०८३ असार मसान्तसम्मको १३६ दिनका लागि समानुपातिक रूपमा गणना गरिएको हो ।

यसैगरी, साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित असार मसान्तसम्मको वित्तीय विवरण, नाफा–नोक्सान विवरण, नगद प्रवाह विवरण तथा स्वपुँजीमा भएको परिवर्तनसम्बन्धी विवरण पनि पारित गरेको छ ।

सभाले बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्नेलगायतका प्रस्तावसमेत स्वीकृत गरेको बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*