हिमालयन लाइफको सिनियर डेपुटी सीईओमा कबि फुयाँल नियुक्त, कामु सीईओको जिम्मेवारी तोकियो

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको सिनियर डेपुटी प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मा कबि फुयाँल नियुक्त भएका छन् । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदबाट राजीनामा दिएका फुयाँल हिमालयन लाइफको नेतृत्वमा पुगेका हुन् ।
हिमालयन लाइफमा सिनियर डेपुटी सीईओका रूपमा नियुक्त भएका फुयाँललाई कम्पनीले कार्यवाहक प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) को जिम्मेवारीसमेत दिएको छ । कम्पनीको सञ्चालक समितिको ७९औँ बैठकले उनलाई कार्यवाहक सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो । कम्पनीको निर्णयअनुसार फुयाँललाई असोज १३ गतेदेखि लागू हुने गरी उक्त जिम्मेवारी प्रदान गरिएको छ ।
कम्पनीको निर्णयअनुसार अर्को व्यवस्था नभएसम्म फुयाँलले कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्नेछन् । कानुनी प्रक्रियासम्बन्धी केही कारणले तत्काल पूर्ण रूपमा सीईओको जिम्मेवारी दिन नसकिएको भए पनि उनी हिमालयन लाइफको प्रमुख कार्यकारी अधिकृत बन्ने तयारीमा रहेको बताइएको छ ।
बीमा क्षेत्रमा लामो अनुभव हासिल गरेका फुयाँल व्यवसाय विस्तार, बजार रणनीति, कर्मचारी तथा अभिकर्ताको क्षमता विकास र संस्थागत व्यवस्थापनमा सक्रिय व्यवस्थापकका रूपमा परिचित छन् । उनले आफ्नो व्यावसायिक यात्रा लक्ष्मी बैंकबाट सुरु गरेका थिए । त्यसपछि राष्ट्रिय बीमा संस्थान, प्राइम लाइफ, सूर्या लाइफ, सिटिजन लाइफ, आइएमई लाइफ हुँदै सन नेपाल लाइफसम्म विभिन्न जिम्मेवारीमा रहेर काम गरेका छन् ।
फुयाँलले सिटिजन लाइफ इन्स्योरेन्समा मुख्य बजारीकरण अधिकृत (सीएमओ) का रूपमा समेत काम गरेका थिए । त्यसपछि आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रूपमा चार वर्ष नेतृत्व सम्हालेका थिए । बीमा क्षेत्रमा विभिन्न कम्पनीमा काम गर्दै व्यवस्थापकीय अनुभव हासिल गरेका फुयाँल पछिल्लो समय सन नेपाल लाइफ इन्स्योरेन्सको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए ।
विभिन्न जीवन बीमा कम्पनीमा नेतृत्वदायी तथा व्यवस्थापकीय जिम्मेवारी सम्हालिसकेका फुयाँलको आगमनसँगै हिमालयन लाइफको व्यवसाय विस्तार, बजार रणनीति तथा संस्थागत व्यवस्थापनमा थप प्रभाव पर्ने अपेक्षा गरिएको छ ।











