राष्ट्र बैंक–सञ्चार माध्यम सबैलाई पैसामा नचाए, अन्ततः पुर्पक्षमा जेल चलान भए अशोक शेरचन

२६ आश्विन २०८३, सोमबार ११:१६

काठमाडौं । नेपाली बैंकिङ क्षेत्रमा कुन हदसम्म ब्रम्हलुट र भ्रष्टाचार अनि बेथिती छ भनेर अहिले सतहमा आएको प्रभु बैंक काण्ड हेर्दा स्पष्ट हुन आउँछ । प्रभु बैंकका सिईओ अशोक शेरचनले पछिल्लो ११ बर्ष सो बैंकको सिईओ भएर तेस्रो कार्यकाल बिताउँदै थिए । सो अवधिमा देशका नाम चलेका–नचलेका सबै सञ्चार माध्यम र तिनमा आबद्ध पत्रकार, नियामक नेपाल राष्ट्र बैंक मात्रै होइन, कार्यपालिका, व्यवस्थापिका सहित राज्यको चार वटै अंगको उच्च तहमा रहेकाहरुलाई पैसा नै पैसामा नचाए । अन्ततः करोडौं रुपैयाँ बैंकिङ कसुरमा अहिले पुर्पक्षमा जेल चलान भएका छन् ।

अशोक शेरचन पछिल्लो १९ बर्षदेखि सो बैंकको सिईओ बनेका थिए । प्रभु फाइनान्स, प्रभु विकास बैंक हुँदै किष्ट बैंकसँग मर्जरमा गएदेखि नै सिईओ बनेका अशोक शेरचनले सकेको भए आफ्नै आफ्नो कार्यकाल लम्ब्याउने थिए । तर, सधैं समय आफ्नो पक्षमा नहुने रहेछ र कुनै समय बलवान बनेर सबैका प्रिय बनेर बसेकालाई कुर्सीबाट उठाएर जेलसम्म पुर्याउन सक्ने रहेछ भन्ने तथ्य अहिले स्थापित हुन पुगेको छ ।

नियामक नेपाल राष्ट्रका उच्च अधिकारी देखि भूपु गभर्नरहरुसम्मको नियामकीय कुशलता गिज्याउने प्रभु बैंक काण्डमा नेपालका प्रायः सबै सञ्चार माध्यमदेखि राष्ट्र बैंकसम्मलाई नैतिक प्रश्नको कठघरामा उभ्याइदिएको छ । नेपाल राष्ट्र बैंकका कर्मचारी तथा शीर्षस्थ नेतृत्व पनि पैसाको अगाडि निरिह हुन्छन् भन्ने तथ्य कर्णाली विकास बैंक काण्डमा रचिएको तामाशा र प्रभु बैंकलाई हेर्दा स्पष्ट हुन्छ । राष्ट्र बैंकका नियमन विभाग मात्रै नभई टाठाबाठा सबैलाई चाहिएको चिज अशोकले पुरा गरिदिन्थे । स्रोत भन्छ, यतिसम्म थियो कि– बैंकक, पटाया, बाली, मुम्बईदेखि युरोपका टुरहरुको जोहो बिजुलीबजारमा हुन्थ्यो । मोबाइल, आईफोन, ट्याव, ल्यापटप मात्रै होईन थाईल्याण्डको स्याण्डविच मसाजसम्मको योजना सजिलै बन्थे ।

अहिले पनि कैयौं नेता, कर्मचारीहरुका आफन्त, नातागोताहरु प्रभु बैंकका यत्रतत्र भरिएका छन् । पहुँच र गच्छेका आधारमा नियुक्त र सुविधा दिइन्थे । सर्वसाधारणको निक्षेपबाट चल्ने प्रभु बैंकमा सिईओ शेरचनले आफ्नो एउटा छुट्टै गुट नै बनाएर बैंकभित्रको संरचना तलदेखि माथिसम्म एकछत्र राज गरेका थिए । सञ्चालहरुलाई पनि यता उताको कुरा देखाएर प्रभावित पारिरहन्थे । उनका विशेष सहयोगी महिलाको यति छिटो बढुवा गरियो कि नेतृत्व विकास सम्झेर धेरै कर्मचारीहरुले प्रभु बैंक छोड्न बाध्य भएका थिए ।

सबैलाई गोजीमा राखेर आफै चलाउँदै आएका शेरचनले आफ्ना विरोधी कर्मचारीहरुलाई सेटिङ हानेर टाढा पुर्याउँथे । आफ्नो समर्थनमा सबै सञ्चार माध्यमलाई तैनाथी अवस्थामा राख्न लगाएका थिए । यतिसम्म कि आफूलाई मन परेका सञ्चार माध्यमलाई मासिक लाखौं रुपैयाँसम्म भुक्तानी दिन्थे । बाहिर चर्चा भए अनुसार मासिक ३५ देखि एक करोड रुपैयाँसम्म भुक्तानी दिएर सञ्चार माध्यमहरुलाई पैसा नै पैसामा नचाएका थिए । अलिकति क्लु थाहा पाउने वित्तिकै पत्रकारहरु पुग्थे अनि शेरचनसँग बार्गेनिङ गर्दै चुपचाप बस्थे । कोभिड काण्ड (धुलिखेल) देखि अन्य थुप्रै काण्डहरु भित्रभित्रै दवाइए ।

यतिसम्मको अवस्था आयो कि पछिल्लो तीन आर्थिक बर्षमा प्रभु बैंकले लाभांश दिन सकेन र शुन्य लाभांश घोषणा गर्न बाध्य भयो । बढ्दो खर्च, नियामकीय दवाव र ऋणीसँगको अबैध सम्बन्धबारे उनलाई अप्ठेरो पर्दै थियो । अप्ठेरो पर्ने देखेर नै उनले पुल गरेर बढुवा गरेका रश्मी पन्तलाई आफ्नो उत्तराधिकारी बनाएर आफ्ना सबै कर्तुतहरु सेटिङ हान्ने दाउमै थिए ।

यही बीचमा प्रभु ग्रुपमा बढेको झगडा (देवी भट्टचन–कुसुम लामा) पछि नेपाल प्रहरीको सिआईबी प्रभु बैंकभित्र छिर्यो । अनि खुल्यो सारा कालाकर्तुत । यसरी कर्तुत खुलासा हुन थालेपछि केही पैसामा नाचेका व्यक्तिहरु सिआईबीमा पुगेर बयान दिएपनि नेपाल राष्ट्र बैंकका कुनै पनि अधिकारीहरुलाई अहिलेसम्म छानविनको दायरामा ल्याएको छैन ।

पछिल्लो १९ बर्ष फाइनान्स, विकास बैंक हुँदै ११ बर्षसम्म प्रभु बैंकको सिईओ बनेर देशका सबै क्षेत्र नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालयदेखि सञ्चार माध्यम र पत्रकारसमेतलाई पैसा नै पैसामा नचाएर आफ्नो अपराध लुकाईराखे । अन्ततः मिति २०८३ असोज २० गतेको उच्च अदालत पाटनको बाणिज्य इजलासबाट बैंकिङ कसुरको अभियोगमा दोषी ठहर हुन सक्ने भन्दै पुर्पक्षका लागि जेल चलान भएका छन् । उक्त आदेशसँगै उनको पैसामा नचाउने विराशतको अन्त्य भएको छ र पदमा हुँदा पैसामा नचाएर केही हुँदैन र कालाकर्तुतहरुले एक दिन जेलको चिसो छिँडीमा पुर्याएरै छोड्छ भन्ने तथ्य स्थापित गरिदिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*