दुई महिनामा वाणिज्य बैंकले नाफा १७ अर्ब ८१ करोडः अग्रस्थानमा नबिल र ग्लोबल, ८ बैंक अर्ब क्लबमा

काठमाडौँ । वाणिज्य बैंकले दुई महिनामा झण्डै १८ अर्ब रुपैयाँ नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ अनुसार चालु आर्थिक वर्ष २०८३।०८४ को साउन र भदौ महिनामा १७ अर्ब ८१ करोड ४० लाख रुपैयाँ नाफा कमाएका हुन् ।
वाणिज्य बैंकले आर्जन गरेको नाफा गत आर्थिक वर्ष २०८२।०८३ को सोहि अवधिको तुलनामा ७.३२ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको साउन र भदौ महिनामा वाणिज्य बैंकहरुले १६ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ नाफा कमाएका थिए ।
सर्वाधिक नाफा आर्जन गर्नेमा नबिल बैंक पहिलो स्थानमा रहेको छ । बैंकले २ महिनाको अवधिमा १ अर्ब ८० करोड २६ लाख रुपैयाँ नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ३५.८३ प्रतिशतले बढी हो ।

दोस्रो नम्बरमा रहेको ग्लोबल आइएमई बैंकको नाफा ३.०७ प्रतिशतले बढेर १ अर्ब ६९ करोड, तेस्रो नम्बरमा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको०.९१ प्रतिशतले बढेर १ अर्ब २७ करोड, चौथो नम्बरमा रहेको प्राइम बैंकको ८.९९ प्रतिशतले बढेर १ अर्ब १४ करोड र पाँचौ नम्बरमा रहेको राष्ट्रिय वाणिज्य बैंकको २५.३१ प्रतिशतले बढेर १ अर्ब ११ करोड रुपैयाँ पुगेको हो ।
नाफा सर्वाधिक वृद्धि गर्नेमा हिमालयन बैंक र सानिमा बैंक अघि रहेका छन् । सानिमाको नाफा ४२.१५ प्रतिशतले बढेर १ अर्ब २ करोड र हिमालयन बैंकको ५५.१३ प्रतिशतले बढेर ५७ करोड ५१ लाख रुपैयाँ पुगेको छ ।
दुई महिनामा एनएमबि बैंकको नाफा १ अर्ब ३ करोड, कुमारी बैंकको १ अर्ब १ करोड, एभरेष्ट बैंकको ९८ करोड, लक्ष्मी सनराइज बैंकको ८९ करोड, सिद्धार्थ बैंकको ८४ करोड, प्रभु बैंकको ७४ करोड, नेपाल बैंकको ७३ करोड, कृषि विकास बै.कको ५५ करोड, माछापुच्छ्रे बैंकको ५२ करोड, एनआईसी एशियाको ४९ करोड र स्टान्र्डड चार्टड बैंकको ४७ करोड रुपैयाँ रहेको छ ।
साउन र भदौ महिनामा सबैभन्दा कम नाफा हुनेमा सिटिजन्स बैंक र नेपाल एसबिआई बैंक रहेका छन् । दुई महिनामा सिटिजन्स बैंकको नाफा ४७ करोड र नेपाल एसबिआई बैंकको ४१ करोड रहेको छ ।











