राष्ट्रिय वाणिज्य बैंकको ३ अर्बको ऋणपत्र बिक्री खुला, वार्षिक ६ प्रतिशत ब्याज पाइने

२९ आश्विन २०८३, बिहीबार ०७:३७

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको छ। बैंकले ‘६% आरबीबीएल डिबेन्चर २०८९’ नामक ऋणपत्र आजदेखि बिक्री खुला गरेको हो। सात वर्ष अवधि रहेको उक्त ऋणपत्रमा लगानी गर्नेले वार्षिक ६ प्रतिशत ब्याज पाउनेछन्।

बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यका ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो। कुल रकममध्ये १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने सर्वसाधारणका लागि १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता छुट्याइएको छ। सर्वसाधारणका लागि छुट्याइएको हिस्सामध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ।

यस ऋणपत्रमा न्यूनतम २५ कित्ताका लागि आवेदन दिन सकिनेछ भने अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन पाइनेछ। प्रतिकित्ता १ हजार रुपैयाँका दरले आवेदन दिँदा माग गरिएको रकमको शतप्रतिशत भुक्तानी गर्नुपर्नेछ। इच्छुक सर्वसाधारणले सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाका तोकिएका शाखा वा मेरो शेयरमार्फत आवेदन दिन सक्नेछन्।

ऋणपत्रमा आवेदन दिने समय छिटोमा कात्तिक १० गते बैंकिङ समयपछि बन्द हुनेछ भने ढिलोमा कात्तिक १२ गतेसम्म आवेदन दिन सकिनेछ। ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी कुमारी क्यापिटल लिमिटेडले सम्हालेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*