कात्तिकमा बैंकहरूको ब्याजदर घट्यो, कुन बैंकको कति?

काठमाडौँ । नेपालका २० वाणिज्य बैंकहरूले २०८३ कात्तिक महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। बैंकिङ प्रणालीमा पर्याप्त लगानीयोग्य रकम उपलब्ध हुनु र कर्जा प्रवाह अपेक्षाअनुसार बढ्न नसक्नुले निक्षेपको ब्याजदर घट्ने क्रमलाई निरन्तरता दिएको छ। असोजको तुलनामा कात्तिकमा व्यक्तिगत तथा संस्थागत निक्षेपको औसत अधिकतम ब्याजदर दुवै घटेका छन्।
२० वटा वाणिज्य बैंकको व्यक्तिगत निक्षेपको औसत अधिकतम ब्याजदर असोजमा ४.०८९५ प्रतिशत रहेकोमा कात्तिकमा ४.०१३ प्रतिशतमा झरेको छ। यससँगै ब्याजदर ०.०७६५ प्रतिशतविन्दुले घटेको हो। संस्थागत निक्षेपतर्फ पनि औसत ब्याजदर ३.०६६५ प्रतिशतबाट घटेर ३.००३ प्रतिशतमा कायम भएको छ। यो अघिल्लो महिनाको तुलनामा ०.०६३५ प्रतिशतविन्दुको गिरावट हो।
कात्तिकमा सबैभन्दा धेरै ब्याजदर घटाउने बैंक नेपाल इन्भेष्टमेन्ट मेगा बैंक बनेको छ। बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर ०.८ प्रतिशतविन्दुले घटाएर ३.७ प्रतिशतमा सीमित गरेको छ भने संस्थागत निक्षेपको दर ०.५ प्रतिशतविन्दुले कम गर्दै ३ प्रतिशत कायम गरेको छ। नबिल बैंकले पनि व्यक्तिगत निक्षेपको ब्याजदर ०.५ प्रतिशतविन्दुले घटाएर ३.७५ प्रतिशतमा झारेको छ। संस्थागत निक्षेपको दर भने ०.२६ प्रतिशतविन्दुले घटाएर २.७५ प्रतिशत कायम गरेको छ।
प्रभु बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर ०.३ प्रतिशतविन्दुले घटाउँदै ४.२५ प्रतिशतमा सीमित गरेको छ। नेपाल एसबिआई बैंकले ०.१ प्रतिशतविन्दुले घटाएर ४ प्रतिशत कायम गर्दा स्ट्याण्डर्ड चार्टर्ड बैंक र कुमारी बैंकले पनि व्यक्तिगत निक्षेपको ब्याजदर क्रमशः ०.०५ र ०.०३ प्रतिशतविन्दुले घटाएका छन्। यी दुवै बैंकको नयाँ ब्याजदर ३.७ प्रतिशत रहेको छ।
हिमालयन बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर ४ प्रतिशतमा यथावत् राखे पनि संस्थागत निक्षेपको दर ०.२५ प्रतिशतविन्दुले घटाएर ३.२५ प्रतिशत कायम गरेको छ। यसको विपरीत एभरेष्ट बैंकले भने व्यक्तिगत निक्षेपको ब्याजदर ०.२५ प्रतिशतविन्दुले बढाएको छ। बैंकले असोजको तुलनामा दर वृद्धि गर्दै कात्तिकका लागि ३.७५ प्रतिशत पुर्याएको छ। संस्थागत निक्षेपको ब्याजदर भने ३.२५ प्रतिशतमा स्थिर राखेको छ।
व्यक्तिगत निक्षेपको ब्याजदरमा परिवर्तन नगर्ने बैंकहरूमा सानिमा र एनएमबी बैंक अग्रस्थानमा छन्। यी दुवै बैंकले कात्तिकका लागि ४.५ प्रतिशत ब्याजदर कायम गरेका छन्। माछापुच्छ्रे बैंकले पनि ४.५ प्रतिशत नै ब्याजदरलाई निरन्तरता दिएको छ। कृषि विकास बैंक र नेपाल बैंकले ४.१५ प्रतिशत ब्याजदर कायम गरेका छन्।
त्यस्तै, लक्ष्मी सनराइज बैंक, एनआईसी एसिया बैंक, राष्ट्रिय वाणिज्य बैंक, प्राइम कमर्सियल बैंक र ग्लोबल आइएमई बैंकले व्यक्तिगत निक्षेपमा ४ प्रतिशत ब्याजदरलाई निरन्तरता दिएका छन्। सिटिजन्स बैंकले ३.८५ प्रतिशत तथा सिद्धार्थ बैंकले ३.७६ प्रतिशत ब्याजदर कायम गरेका छन्।











