दसैं–तिहारमा डिजिटल कारोबारको सीमा बढायो राष्ट्र बैंकले, अब दिनमा ५० पटकसम्म रकम जम्मा गर्न सकिने

१ कार्तिक २०८३, शनिबार ०८:२१

काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै डिजिटल भुक्तानी सेवामार्फत रकम जम्मा गर्न सकिने दैनिक सीमामा अस्थायी वृद्धि गरेको छ।

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले भुक्तानी सेवा प्रदायक संस्थाहरूलाई परिपत्र जारी गर्दै प्राकृतिक व्यक्तिको वालेटमा रकम जम्मा गर्न सकिने दैनिक कारोबार संख्या बढाएको हो।

राष्ट्र बैंकको परिपत्रअनुसार दसैंको शुभ अवसरमा २०८३ असोज ३१ गतेदेखि कात्तिक ८ गतेसम्म प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा ५० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था गरिएको छ।

त्यस्तै, शुभ दीपावली तथा छठ पर्वको अवसरमा २०८३ कात्तिक २१ गतेदेखि कात्तिक २९ गतेसम्म पनि एक दिनमा बढीमा ५० पटकसम्म रकम जम्मा गर्न सकिनेछ।

यसअघि भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशनको व्यवस्थाअनुसार वालेटमा रकम जम्मा गर्न सकिने दैनिक कारोबार संख्याको सीमा कम थियो।

चाडपर्वका समयमा डिजिटल कारोबार बढ्ने भएकाले सर्वसाधारणलाई भुक्तानीमा सहजता प्रदान गर्न राष्ट्र बैंकले निश्चित अवधिका लागि उक्त सीमा अस्थायी रूपमा बढाएको हो।

राष्ट्र बैंकले तोकिएको अवधिमा भएका कारोबारको संख्या र कुल रकमसम्बन्धी विवरण विभागलाई उपलब्ध गराउनसमेत भुक्तानी सेवा प्रदायक संस्थाहरूलाई निर्देशन दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*