कृषि तथा पशु बीमा लागि सरकारले २ अर्ब १९ करोड अनुदान दिने

काठमाडौँ ।सरकारले कृषि तथा पशुपालन क्षेत्रमा हुने जोखिम र क्षति न्यूनीकरण गर्दै किसानलाई आर्थिक सुरक्षाको प्रत्याभूति दिलाउन चालु आर्थिक वर्ष २०८३र८४ मा करिब सवा दुई अर्ब रुपैयाँ अनुदान दिने भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार बाली तथा पशुधन बिमाको प्रिमियममा किसानलाई राहत दिन कुल २ अर्ब १९ करोड रुपैयाँ अनुदान उपलब्ध गराइने छ।
प्राकृतिक विपद्, रोगव्याधि तथा अन्य अप्रत्याशित घटनाबाट कृषि क्षेत्रमा हुने क्षति कम गर्न र किसानलाई ठूलो आर्थिक भारबाट जोगाउन सरकारले बिमा कार्यक्रमलाई प्राथमिकतामा राखेको हो।
बीमा प्रिमियममा ८० प्रतिशत सरकारी अनुदान
सरकारले ‘कृषि, पशुपन्छी तथा जडीबुटी बिमाको प्रिमियममा अनुदान उपलब्ध गराउने कार्यविधि’ स्वीकृत गरी लागु गरिसकेको छ। यस व्यवस्थाअनुसार कृषि तथा पशु बिमाको कुल प्रिमियममा सरकारले ८० प्रतिशत अनुदान उपलब्ध गराउनेछ भने किसानले बाँकी २० प्रतिशत मात्र व्यहोर्नुपर्ने हुन्छ।
उदाहरणका लागि, यदि कुनै कृषि वा पशु बिमाको कुल प्रिमियम १० हजार रुपैयाँ तोकिएको छ भने ८० प्रतिशत अनुदान लागु हुँदा सरकारले ८ हजार रुपैयाँ व्यहोर्नेछ र किसानले जम्मा २ हजार रुपैयाँ मात्र तिरे पुग्छ।
कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले विपद्बाट कृषि क्षेत्रमा हुने क्षति न्यूनीकरण तथा कृषकलाई राहत उपलब्ध गराउन संघ, प्रदेश र स्थानीय तह मिलेर काम गरिरहेको बताइन्। उनले भनिन्, ‘कृषकको जोखिम न्यूनीकरण गर्न सरकारले बाली, पशुपन्छी तथा मत्स्य बिमाको व्यवस्था गरी प्रिमियममा अनुदान दिँदै आएको छ।’











