जग्गाको लिखत पास गराउन तीन लाख घुस, ११ जनाविरुद्ध मुद्दा

१५ कार्तिक २०८३, आईतवार १४:४७

काठमाडौं । ललितपुरको लगनखेलस्थित भूमि प्रशासन कार्यालयका कर्मचारी, ललितपुर महानगरपालिका–४ का वडाध्यक्ष र लेखापढी व्यवसायीसहित ११ जनाविरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गाको अंश बुझेको भरपाई लिखत पारित गराउने काममा सेवाग्राहीसँग तीन लाख रुपैयाँ घुस लिएको आरोपमा उनीहरूविरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

आयोगका अनुसार जग्गासम्बन्धी काम गराउन अनावश्यक दुःख दिएको र घुस मागेको उजुरी परेपछि अख्तियारको टोलीले तीन लाख रुपैयाँ लिइसकेको अवस्थामा केही व्यक्तिलाई नियन्त्रणमा लिएको थियो।

अनुसन्धानका क्रममा भूमि प्रशासन कार्यालयका भूमि प्रशासन अधिकृत अर्जुन देव योङ्या र नवीनकुमार गोले, नायब सुब्बाहरू मनोज पोखरेल, राजकुमार मगर र विशाल सुन्दास, खरिदारहरू नरेन्द्रबहादुर बस्नेत र भक्तबहादुर राना तथा सहायक कम्प्युटर अपरेटर इन्दु दाहालको संलग्नता देखिएको आयोगले जनाएको छ।
त्यस्तै ललितपुर महानगरपालिका–४ का वडाध्यक्ष सन्तोष खड्का तथा लेखापढी व्यवसायी शैलेन्द्र रानामगर र समीर कटुवाललाई पनि प्रतिवादी बनाइएको छ।

आयोगको अनुसन्धानअनुसार ललितपुर महानगरपालिका–४ अन्तर्गतको जग्गासम्बन्धी अभिलेख अद्यावधिक गर्ने क्रममा पुनः नापीबाट प्राप्त विवरणअनुसार जग्गाधनी स्रेस्ता तयार गर्नुपर्ने थियो। तर सम्बन्धित विवरण भूमि प्रशासन कार्यालयमा प्राप्त भइसकेको जानकारी हुँदाहुँदै पनि कर्मचारीहरूले जग्गाको अभिलेख अद्यावधिक नगरी पुरानै विवरणका आधारमा कागजात तयार गरेको आरोप छ।

पुनः नापीअनुसारको जग्गाधनी विवरण लुकाउने, सरकारी अभिलेखमा हेरफेर तथा थपघट गर्ने र पुरानै विवरणका आधारमा अंश बुझेको भरपाईको लिखत पारित गराउने प्रक्रियामा संलग्न भएर तीन लाख रुपैयाँ घुस लिएको आयोगको ठहर छ।

आयोगले भूमि प्रशासन कार्यालयका कर्मचारी र वडाध्यक्षसहितका प्रतिवादीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कारबाहीको माग गरेको छ। उनीहरूमाथि तीन लाख रुपैयाँ बिगो कायम गरी बिगो बराबर जरिवाना तथा कैद सजाय माग गरिएको छ। त्यस्तै, लेखापढी व्यवसायी शैलेन्द्र रानामगर र समीर कटुवाललाई मुख्य कसुरदारलाई सहयोग गरेको आरोपमा मुख्य कसुरदारसरह सजाय मागदाबी गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*