आधुनिक प्रविधिमा लघुबीमा क्षेत्र कमजोर, जनशक्ति र प्रविधि अभाव मुख्य चुनौती

काठमाडौं । नेपालका लघुबीमा कम्पनीहरूमा डिजिटल प्रविधिको प्रयोग बढ्न थाले पनि यसको कार्यान्वयनमा जनशक्ति अभाव, कमजोर डिजिटल पहुँच र ग्राहकमा प्रविधिप्रतिको विश्वासको कमी मुख्य चुनौतीका रूपमा देखिएका छन् । नेपाल बीमा प्राधिकरणद्वारा प्रकाशित प्रतिवेदनले लघु जीवन बीमाको तुलनामा लघु निर्जीवन बीमाको डिजिटल रूपान्तरण अझै प्रारम्भिक चरणमा रहेको देखाएको छ ।
‘डिजिटल ट्रान्सफरमेशन एण्ड इन्सुरटेक रेडनेसः अ पाइलट असेसमेन्ट अफ माइक्रोइन्स्योरेन्स कम्पनी इन नेपाल’ नामक अध्ययन प्रतिवेदनले सात लघुबीमा कम्पनीको डिजिटल अवस्था मूल्याङ्कन गरेको हो । प्रतिवेदनअनुसार लघु जीवन बीमा कम्पनीहरूले अनलाइन केवाईसी, मोबाइल एप, वेबसाइट र एसएमएस सूचनाजस्ता सुविधा सञ्चालनमा ल्याएका छन् । तर दाबी प्रक्रियामा अझै कागजातको भौतिक रुपमा प्रमाणीकरण आवश्यक पर्ने गरेको छ । लघु निर्जीवन बीमामा भने पोलिसी जारी गर्ने काम मुख्यतः अभिकर्ता वा ग्राहकको प्रत्यक्ष उपस्थितिमा हुने गरेको छ ।
कम्पनीहरूमा सूचना प्रविधिसम्बन्धी जनशक्ति सीमित हुनु अर्को समस्या बनेको छ । एकदेखि दुई जनाको आईटी टोलीले धेरै शाखाको प्राविधिक व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको अध्ययनले औँल्याएको छ । ग्रामीण क्षेत्रमा बैंकिङ पहुँच र डिजिटल साक्षरताको कमी, भुक्तानी प्रणालीमा आउने समस्या तथा ग्राहकको प्रविधिप्रतिको अविश्वासले पनि डिजिटल सेवा विस्तारमा अवरोध पुर्याएको छ । वेबसाइटमा सार्वजनिक गर्नुपर्ने कतिपय विवरणसमेत पूर्ण रूपमा राखिएको नपाइएको प्रतिवेदनमा उल्लेख छ ।
समस्या समाधानका लागि प्राधिकरणको अध्ययनले कम्पनीहरूमा कम्तीमा दुईदेखि तीन जनाको समर्पित आईटी टोली व्यवस्था गर्न, सरल बीमालेखबाट अनलाइन सेवा सुरु गर्न र दाबी भुक्तानीलाई डिजिटल बनाउन सुझाव दिएको छ । साथै, मोबाइल वालेटबाट प्रिमियम सङ्कलन र दाबी भुक्तानीको व्यवस्था, स्थानीय भाषामा डिजिटल साक्षरता कार्यक्रम तथा नियमित आईटी अडिट र साइबर सुरक्षा प्रणालीमा जोड दिन औंल्याइएको छ ।
प्रतिवेदनले लघुबीमाको डिजिटल रूपान्तरणका लागि प्रविधि उपलब्ध गराउनु मात्र पर्याप्त नहुने देखाएको छ । सेवा सरल, पारदर्शी र ग्रामीण ग्राहकको पहुँचमा पुग्ने बनाउन सके मात्रै डिजिटल बीमाप्रति विश्वास बढाउन सकिने अध्ययन प्रतिवेदनको निष्कर्ष रहेको छ ।











