नेपाल वेयरहाउजिङको ५५ लाख कित्ताभन्दा बढी शेयरको लकइन खुल्दै

काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडको ५५ लाख २७ हजार ५०० कित्ता शेयरको लकइन अवधि आगामी मङ्सिर १९ गते समाप्त हुने भएको छ । कम्पनीका संस्थापक र कर्मचारीको स्वामित्वमा रहेको उक्त शेयरको लकइन अवधि समाप्त हुन लागेको हो ।
कम्पनीका संस्थापकको नाममा रहेको ५५ लाख कित्ता र कर्मचारीसँग रहेको २७ हजार ५०० कित्ता शेयरको लकइन अवधि समाप्त हुन लागेको हो । लकइन अवधि सकिएसँगै सम्बन्धित संस्थापक तथा कर्मचारीले आफ्नो स्वामित्वमा रहेको शेयर बिक्री गर्न सक्नेछन् ।
सार्वजनिक निष्काशनमार्फत शेयर बाँडफाँट भएको तीन वर्षसम्म संस्थापक तथा कर्मचारीको शेयर बिक्री गर्न नपाइने व्यवस्था छ । सोही व्यवस्थाअनुसार लकइनमा राखिएको शेयरको अवधि समाप्त हुन लागेको हो । यद्यपि, कम्पनीका सञ्चालक तथा उच्च व्यवस्थापन तहमा रहेका व्यक्तिहरूले भने उक्त अवधिपछि पनि शेयर बिक्री गर्न पाउने छैनन् ।











