घाटामा रहेको खानी खोला हाइड्रोपावरले कमायो साढे ३ करोड नाफा

काठमाडौं । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा घाटाबाट नाफामा फर्किएको छ। कम्पनीले सार्वजनिक गरेको असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा ३ करोड ६५ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको छ।
गत आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा कम्पनी १ करोड ८९ लाख १४ हजार रुपैयाँ खुद नोक्सानीमा थियो। एक वर्षको अवधिमा कम्पनीको वित्तीय अवस्थामा सुधारेर घाटाबाट नाफाको यात्रा तय गर्न सफल भएको हो।
कम्पनीको नाफा बढ्नुमा विद्युत् बिक्रीबाट हुने आम्दानीमा भएको वृद्धि प्रमुख देखिएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ८२ लाख २१ हजार रुपैयाँ रहेको विद्युत् बिक्री आम्दानी चालु आर्थिक वर्षको सोही अवधिमा बढेर ६ करोड ८५ लाख २२ हजार रुपैयाँ पुगेको छ। यससँगै कम्पनीको सञ्चालन मुनाफा पनि उल्लेख्य बढेको छ। अघिल्लो वर्ष १ करोड १५ लाख १६ हजार रुपैयाँ रहेको सञ्चालन मुनाफा यस वर्ष ५ करोड ७३ लाख ५९ हजार रुपैयाँ पुगेको छ।
नाफामा भएको सुधारको प्रभाव कम्पनीको प्रतिशेयर आम्दानीमा पनि देखिएको छ। गत वर्षको पहिलो त्रैमासमा प्रतिशेयर आम्दानी २ रुपैयाँ १४ पैसा ऋणात्मक रहेकोमा यस वर्ष बढेर ३ रुपैयाँ ९३ पैसा पुगेको छ। अर्थात् कम्पनीको प्रत्येक शेयरबाट हुने आम्दानी ऋणात्मक अवस्थाबाट सकारात्मक बनेको छ। असोज मसान्तसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ ९० रुपैयाँ ७८ पैसा कायम भएको छ। कम्पनीको मूल्य आम्दानी अनुपात ६८.२४ गुणा र चालू अनुपात ९.८३ रहेको छ।
कम्पनीको चुक्ता पुँजी ९३ करोड १४ लाख रुपैयाँ रहेको छ। विगतका वर्षमा भएको सञ्चित घाटाका कारण कम्पनीको जगेडा कोष अझै ऋणात्मक अवस्थामा छ। तर चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा कमाएपछि ऋणात्मक जगेडा रकम घटेको छ। अघिल्लो आवमा १६ करोड ४८ लाख रुपैयाँ ऋणात्मक रहेको जगेडा कोष असोज मसान्तसम्म घटेर ८ करोड ५८ लाख रुपैयाँमा सीमित भएको छ। कम्पनीको दीर्घकालीन ऋण ५९ करोड ४५ लाख ३५ हजार रुपैयाँ रहेको छ। सञ्चित घाटा अझै बाँकी रहे पनि नाफा आर्जन र जगेडा कोषमा आएको सुधारले कम्पनीको वित्तीय अवस्था क्रमशः सकारात्मक दिशातर्फ अघि बढेको देखिन्छ।
उत्पादनतर्फ कम्पनीका दुवै जलविद्युत् आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन भइरहेको कम्पनीले जनाएको छ। दुवै आयोजनाको उत्पादन नियमित भएपछि विद्युत् बिक्री आम्दानी बढेको र त्यसले नगद प्रवाह तथा तरलताको अवस्थामा समेत सुधार ल्याएको वित्तीय विवरणमा उल्लेख छ।











