पोखरा–मुग्लिन सडक स्तरोन्नति अन्तिम चरणमा, पश्चिम खण्डको प्रगति ८६ प्रतिशत

१७ कार्तिक २०८३, मंगलवार १०:०७

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गतको पोखरा–मुग्लिन सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ। कुल ८१ किलोमिटर लामो सडकको पूर्वी खण्ड निर्माण सम्पन्न भई हस्तान्तरण भइसकेको छ भने पश्चिम खण्डको भौतिक प्रगति ८६ प्रतिशत पुगेको आयोजना कार्यालयले जनाएको छ। पश्चिम खण्डको बाँकी काम आगामी मङ्सिरभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

आयोजनाको पूर्वी खण्डअन्तर्गत तनहुँको जामुनेदेखि मुग्लिनसम्मको ४१.४५ किलोमिटर सडक विस्तार तथा स्तरोन्नति सम्पन्न भएको छ। निर्माण कम्पनीले सडक हस्तान्तरण गरिसकेको उक्त खण्डमा अहिले त्रुटि सच्याउने अवधि (डिफेक्ट लायबिलिटी पिरियड–डिएलपी) सुरु भएको छ। यस अवधिमा निर्माणका क्रममा देखिएका कमजोरी तथा त्रुटि निर्माण कम्पनीले नै सच्याउनुपर्नेछ। डिएलपी सकिएपछि पनि थप पाँच वर्षसम्म सडकको मर्मतसम्भारको जिम्मेवारी निर्माण कम्पनीकै रहनेछ।

पूर्वी खण्डमा दमौली र डुम्रे बजार क्षेत्रमा करिब दुई किलोमिटर सडक छ लेनमा विस्तार गरिएको छ भने अन्य क्षेत्रमा चार लेनको सडक निर्माण भएको छ। यस खण्डमा साना–ठूला गरी १७ वटा पक्की पुलसमेत निर्माण गरिएको छ। तनहुँको मादी नदीमा निर्माण भइरहेको ‘सिग्नेचर’ पुल भने छुट्टै ठेक्कामार्फत अघि बढाइएको छ। पाँच दशकअघि निर्माण भएको यो सडक विस्तार तथा स्तरोन्नतिको काम विसं २०७८ वैशाखदेखि सुरु भएको थियो। पूर्वी खण्ड निर्माणका लागि चिनियाँ कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले ६ अर्ब २१ करोड ३१ लाख रुपैयाँमा ठेक्का पाएको थियो।

यता आयोजनाको पश्चिम खण्डअन्तर्गत पोखरादेखि तनहुँको जामुनेसम्मको ३८.८८ किलोमिटर सडकमा काम जारी छ। यस खण्डको भौतिक प्रगति ८६ प्रतिशत पुगेको छ। झन्डै पाँच किलोमिटर सर्भिस लेन कालोपत्र गर्न बाँकी रहेको र सडक चिह्न, ट्राफिक सङ्केत तथा सडक सुरक्षासम्बन्धी काम तीव्र रूपमा भइरहेको छ। पोखरा महानगरपालिका–१० को अमरसिंहचोकदेखि सेती पुलसम्म तथा तालचोक र बूढीबजार क्षेत्रमा सर्भिस लेन कालोपत्र गर्ने तयारी भइरहेको छ। बाँकी काम आगामी मङ्सिरभित्र सक्ने लक्ष्य राखिएको आयोजना कार्यालयले जनाएको छ।

पश्चिम खण्डमा सहरी क्षेत्र बढी भएकाले १८.५ किलोमिटर सडक छ लेनमा विस्तार गरिएको छ भने बाँकी सडक चार लेनको बनाइएको छ। तनहुँका दुलेगौँडा र खैरेनीटार क्षेत्रमा पनि छ लेनको सडक निर्माण गरिएको छ। यस खण्डमा रहेका १३ पुलमध्ये १२ वटा निर्माण सम्पन्न भइसकेका छन्। पोखराको सेती नदीमाथि बन्ने ‘सिग्नेचर’ पुल भने छुट्टै ठेक्कामार्फत निर्माण भइरहेको छ।

तनहुँको जामुनेदेखि पोखरासम्मको पश्चिम खण्ड निर्माणका लागि विसं २०७८ जेठ २ गते सम्झौता भएको थियो। विसं २०७८ भदौ १२ गतेदेखि निर्माण सुरु भएको यस खण्डको ठेक्का चिनियाँ कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले सात अर्ब ४० करोड ४६ लाख रुपैयाँमा पाएको थियो। एसियाली विकास बैंकको ऋण सहयोगमा निर्माण भइरहेको पोखरा–मुग्लिन सडक सरकारको प्राथमिकताप्राप्त आयोजना हो। पश्चिम खण्डको निर्माण सम्पन्न भएपछि सडक हस्तान्तरण गरिए पनि एक वर्षसम्म डिएलपी लागू हुनेछ। त्यसपछि थप पाँच वर्षसम्म सडकको मर्मतसम्भार निर्माण कम्पनीले नै गर्नुपर्ने सम्झौतामा उल्लेख छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*