सरकारको हकप्रदको निर्णयपछि दुई पुनर्बीमा कम्पनीमा लगानीकर्ताको आकर्षण

काठमाडौं । आज नेपाल पुनर्बीमा र हिमालयन रिइन्स्योरेन्स सबैभन्दा धेरै मूल्य बढेका कम्पनी बनेको छ ।
नेपाल रिइन्स्योरेन्सको मूल्य १५ प्रतिशत बढ्यो भने अर्को हिमालयन रिको ११।४८ प्रतिशत बढ्यो । यी दुई कम्पनीको उच्च मूल्यवृद्धिकै कारण समग्र सेयर बजार जम्मा ०।०५ प्रतिशत मात्रै बढ्दा पनि अन्य समूह सबैभन्दा धेरै ६।१८ प्रतिशत बढ्यो ।
दुई पुनर्बीमा कम्पनीको मूल्य एकाएक बढ्नुको मुख्य कारण हो( हकप्रद सेयर निष्कासन । अघिल्लो दिन बसेको मन्त्रिपरिषद् बैठकले नेपाल पुनर्बीमाको हकप्रद सेयर निष्कासनका लागि स्वीकृति प्रदान गरेको छ । कम्पनीले शत प्रतिशत हकप्रद सेयर निष्कासनको प्रस्ताव गरेको थियो ।
नेपाल पुनर्बीमामा सरकारको स्वामित्व ४४ प्रतिशत तथा सर्वसाधारणको १६ प्रतिशत रहेको छ बाँकी अन्य कम्पनीहरुको छ ।
यसले अर्को कम्पनी हिमालयन रिइन्स्योरेन्सको पनि हकप्रद सेयर निष्कासन हुने निश्चित भएको छ । नियामक निकाय बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीहरूका लागि २० अर्ब चुक्ता पूँजी तोकेको छ ।
हाल नेपाल पुनर्बीमाको चुक्ता पूँजी १३ अर्ब ४२ करोड छ भने हिमालयन रिइन्स्योरेन्सको १० अर्ब ८६ करोड रुपैयाँ छ । २० अर्बका लागि नपुग रकम हकप्रद सेयरमार्फत कम्पनीहरूले जुटाउनुपर्नेछ ।
दुवै कम्पनीले हकप्रद सेयर निष्कासनबाट सो चुक्ता पूँजी पुर्याउने निश्चित भएसँगै बुधबार यी कम्पनीमा आकर्षण देखिएको हो । नेपाल पुनर्बीमाको हाल मूल्य प्रतिकित्ता ९२१।७० र हिमालयन रिको ५३४ रुपैयाँ पुगेको छ ।
हकप्रद निष्कासनका बेला भने लगानीकर्ताले प्रतिकित्ता १ सय रुपैयाँका दरले सेयर खरिद गर्न पाउँछन् । यही कारण बजारमा आकर्षण बढ्ने गरेको छ । तर बजारमा हकप्रद निष्कासनपछि मूल्य समायोजन हुने गर्दछ ।











