जीवन बीमकको कुल बीमाशुल्क १६.८५ प्रतिशतले बढ्यो, आइएमई र प्रभु लाइफको उच्च वृद्धि

१९ कार्तिक २०८३, बिहीबार ११:०८

काठमाडौं । चालू आर्थिक वर्षको प्रथम त्रैमास अर्थात साउनदेखि असोज मसान्तसम्म १४ वटा जीवन बीमा कम्पनीहरुले ५७ अर्ब ५२ करोड २० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । गत आवको यसै अवधिमा कम्पनीहरुले ४९ अर्ब २२ करोड ९३ लाख बीमाशुल्क आर्जन गरेकोमा यस वर्ष १६.८५ प्रतिशतले बढेको हो ।

तथ्यांकअनुसार ११ वटा कम्पनीहरुको कुल बीमाशुल्क गत आवको तुलनामा चालू आवमा १० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने ८ कम्पनीको २० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। सर्वाधिक बीमाशुल्क आर्जन गर्नेमा नेपाल लाइफ, नेशनल लाइफ, एलआईसी नेपाल, हिमालयन लाइफ, राष्ट्रिय जीवन बीमा कम्पनी अग्रस्थानमा रहेका छन् ।

यद्यपि वृद्धिदरका आधारमा हेर्ने हो भने नयाँ कम्पनीहरु आक्रामक रूपमा अघि बढिरहेको तथ्यांकले देखाएको छ। आइएमई लाइफले गत आवमा १ अर्ब ५१ करोड ५४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेकोमा चालू आवमा ४३.२० प्रतिशतको छलाङ मार्दै २ अर्ब १७ करोड रुपैयाँ बीमाशुल्क कमाउन सफल भएको छ।

त्यस्तै प्रभु महालक्ष्मी लाइफको १ अर्ब ४० करोड ६ लाख रुपैयाँबाट ३१.४१ प्रतिशतले बढेर १८ अर्ब ४० करोड ५ लाख रुपैयाँ पुगेको छ भने नेशनल लाइफको पनि ५ अर्ब ६८ करोड ४७ लाख रुपैयाँबाट २९.५१ प्रतिशतले बढेर ७ अर्ब ३६ करोड २६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन भएको छ ।

त्यसपछि रिलायबल लाइफको २७.०७ प्रतिशत, सन नेपाल लाइफको २५ प्रतिशत, सानिमा रिलायन्स लाइफको २३.८० प्रतिशत, एशियन लाइफको २२.६० प्रतिशत, सूर्यज्योति लाइफको २२.०३ प्रतिशत, हिमालयनको १६.१२ प्रतिशत, सिटिजनको १५.६८ प्रतिशत, मेटको १२.१९ प्रतिशत, एलआईसीको ९.५२ प्रतिशत, नेपाल लाइफको ९.४७ प्रतिशत र राष्ट्रिय जीवन बीमा कम्पनीको ६.६१ प्रतिशतले बीमाशुल्क वृद्धि भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*