बीमा प्राधिकरणको निर्देशनः बिदा र अतिरिक्त समय काम लगाउने बीमा कम्पनीले सट्टा बिदा वा ओभरटाइम भत्ता दिनैपर्ने

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले कर्मचारीलाई थप समय काम लगाएर अतिरिक्त सुविधा नदिने बीमा कम्पनीहरूमाथि निगरानी बढाउँदै प्रचलित श्रम ऐन पालना गर्न कडा निर्देशन दिएको छ।
प्राधिकरणले सबै इजाजतप्राप्त बीमकहरूलाई परिपत्र जारी गर्दै व्यावसायिक आवश्यकताका नाममा कर्मचारीको श्रम शोषण गर्न नपाइने स्पष्ट पारेको हो। सार्वजनिक तथा साप्ताहिक बिदाका दिन वा नियमित कार्यालय समयभन्दा बढी समय काममा लगाउँदा अनिवार्य रूपमा सट्टा बिदा वा थप पारिश्रमिकको व्यवस्था मिलाउन प्राधिकरणले भनेको छ।
बीमा कम्पनीहरूले बिदाका दिन र बढी समय काम लगाएर पनि सेवा(सुविधा नदिएको व्यापक गुनासो प्राधिकरणमा पुगेपछि यो निर्देशन जारी गरिएको हो। यस कदमले बीमा क्षेत्रमा कार्यरत कर्मचारीहरूको श्रम अधिकार सुनिश्चित हुने र कम्पनीहरूमा संस्थागत सुशासन कायम गर्न मद्दत पुग्ने विश्वास गरिएको छ।











