नेको इन्स्योरेन्सको बीमाशुल्क संकलन १५ प्रतिशतले बढ्यो, अन्य वित्तीय सूचक कस्ता?

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडको बीमा व्यवसाय विस्तार भएको छ। कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार खुद बीमाशुल्क संकलन १५.२२ प्रतिशतले बढेको छ । यद्यपि व्यवसाय र आम्दानीमा सुधार भए पनि कम्पनीले यस अवधिमा ८ करोड रुपैयाँभन्दा बढी खुद नोक्सानी व्यहोरेको छ ।
कम्पनीले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ३४ करोड ३ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २९ करोड ५४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो। यसअनुसार कम्पनीको खुद बीमाशुल्क संकलनमा उल्लेख्य वृद्धि भएको हो।
व्यवसाय र आम्दानीमा सुधार भए पनि कम्पनीको नाफा भने सकारात्मक हुन सकेको छैन । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ८ करोड १८ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनी ८ करोड ३१ लाख रुपैयाँ नोक्सानीमा थियो। यसअनुसार कम्पनीको नोक्सानीमा सामान्य सुधार आएको छ ।

नोक्सानीमा केही कमी आएसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि गत वर्षको तुलनामा सुधार भएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ऋणात्मक १२ रुपैयाँ ३५ पैसा रहेको प्रतिशेयर आम्दानी चालु आर्थिक वर्षको सोही अवधिमा ऋणात्मक ११ रुपैयाँ ८१ पैसा कायम भएको छ।
कम्पनीको बीमालेख संख्यामा भने उल्लेख्य वृद्धि भएको छ। गत वर्षको पहिलो त्रैमासमा ७२ हजार २२२ वटा बीमालेख जारी गरेको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा ८७ हजार ११६ वटा बीमालेख जारी गरेको छ।
यस अवधिमा कम्पनीले ३ हजार ३५० वटा बीमा दाबीबापत ४३ करोड १६ लाख रुपैयाँभन्दा बढी भुक्तानी गरेको छ। हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ७७ करोड २२ लाख ७८ हजार रुपैयाँ रहेको छ भने विपत्ति कोषमा १८ करोड १५ लाख रुपैयाँ र जगेडा कोषमा २८ करोड ३१ लाख रुपैयाँ सञ्चिति रहेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ २२३ रुपैयाँ २६ पैसा र सोल्भेन्सी मार्जिन अनुपात ५.०६ रहेको वित्तीय विवरणमा उल्लेख छ।











