हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

७ मंसिर २०८३, सोमबार ०८:२०

काठमाडौं । देशका केही हिमाली तथा पहाडी भू–भागमा आज आंशिक बदली रहने र उच्च हिमाली भेगका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

​महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्र तथा कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । देशका अन्य भू–भागमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ । दिउँसो कोशी र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।

​त्यस्तै आज राति कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र र बागमती तथा गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जानकारी दिएको छ । रातिको समयमा कोशी प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने जनाइएको छ ।

​यसैगरी तराईका भू–भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । बिहानको समयमा देखिन सक्ने हुस्सु र कुहिरो तथा हिमाली क्षेत्रमा हुन सक्ने सम्भावित वर्षा र हिमपातलाई ध्यानमा राखी आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले अनुरोध गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*