नेपालमा बीमाङ्कीय शिक्षा विस्तार गर्न अन्तर्राष्ट्रिय सहकार्यको प्रस्ताव, विद्यार्थीलाई नयाँ अवसर

काठमाडौं । नेपालमा बीमाङ्कीय शिक्षा, अनुसन्धान तथा व्यावसायिक अवसर विस्तार गर्ने उद्देश्यले शनिबार काठमाडौंको सोल्टी होटलस्मा ‘Actuaries Connect’ कार्यक्रम सम्पन्न भएको छ। दक्षिण एसियाली एक्चुरियल नेटवर्क (SANA) र अमेरिकास्थित व्यावसायिक संस्था Society of Actuaries (SOA) को सहकार्यमा आयोजित कार्यक्रममा करिब १६० जनाको सहभागिता रहेको थियो।कार्यक्रममा एक्चुरियल विज्ञानका विद्यार्थी, व्यावसायिक परीक्षार्थी, प्राध्यापक, बीमा क्षेत्रका विज्ञ तथा विभिन्न बीमा कम्पनीका प्रतिनिधिहरूको सहभागिता थियो। कार्यक्रममा नेपालमा एक्चुरियल पेशाको सम्भावना, अन्तर्राष्ट्रिय व्यावसायिक परीक्षा, करियर विकास तथा बीमा क्षेत्रमा दक्ष जनशक्तिको आवश्यकताबारे छलफल गरिएको थियो।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी र त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि संस्थानका डिन प्रा. डा. शंकरप्रसाद खनालले नेपालमा दक्ष एक्चुरियल जनशक्ति विकासको आवश्यकता र शैक्षिक संस्थाको भूमिकाबारे धारणा राख्नुभएको थियो। SOA का क्षेत्रीय निर्देशक Zain Ibrahim ले अन्तर्राष्ट्रिय एक्चुरियल योग्यता, व्यावसायिक परीक्षा तथा करियरका अवसरबारे प्रस्तुति दिनुभएको थियो। त्यस्तै, Actuators Educational Institute का Ankit Patwari ले FSA बन्ने यात्राका अनुभव तथा विद्यार्थीले ध्यान दिनुपर्ने विषयहरू साझा गर्नुभएको थियो। कार्यक्रममा विभिन्न विषयमा प्रस्तुति, अन्तरक्रिया तथा प्यानल छलफलसमेत सञ्चालन गरिएको थियो।
यस अवसरमा स्कुल अफ म्याथमेटिकल साइन्सेजले नेपालमा एक्चुरियल शिक्षाको गुणस्तर र अन्तर्राष्ट्रिय पहुँच अभिवृद्धि गर्न SOA सँग दीर्घकालीन शैक्षिक सहकार्य विस्तार गर्ने प्रस्ताव अघि सारेको छ। प्रस्तावमा नेपाली विद्यार्थीका लागि सहुलियतपूर्ण परीक्षा शुल्क, छात्रवृत्ति तथा परीक्षा सहायता, प्राध्यापक विकास, संयुक्त अनुसन्धान, मेन्टरसिप र इन्टर्नसिपका अवसरलाई प्राथमिकता दिइएको छ।
स्कुल अफ म्याथमेटिकल साइन्सेजका कार्यक्रम संयोजक केशव राज फुलाराका अनुसार, त्रिभुवन विश्वविद्यालयले नेपालमा एक्चुरियल शिक्षाको विकासमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। अन्तर्राष्ट्रिय संस्थासँगको सहकार्य विस्तार गर्न सके नेपाली विद्यार्थीलाई विश्वस्तरीय व्यावसायिक अवसर उपलब्ध गराउनुका साथै नेपालमै दक्ष एक्चुरियल जनशक्ति उत्पादन गर्न सहयोग पुग्नेछ।नेपालको बीमा, पुनर्बीमा, पेन्सन तथा वित्तीय जोखिम व्यवस्थापन क्षेत्रमा एक्चुरियल जनशक्तिको आवश्यकता बढ्दै गएको सन्दर्भमा यस कार्यक्रमले विद्यार्थी, शैक्षिक संस्था र बीमा क्षेत्रबीचको सम्बन्ध विस्तार गर्न महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
कार्यक्रमले नेपालमा एक्चुरियल शिक्षाको विकास तथा अन्तर्राष्ट्रिय व्यावसायिक सम्बन्ध विस्तारका लागि नयाँ सम्भावनाको ढोका खोलेको आयोजकहरूको विश्वास छ।











