बालेन शाह र मोदीबीच आज द्विपक्षीय भेटवार्ता हुँदै, ऊर्जा र पूर्वाधार विकासमा छलफल हुने

७ मंसिर २०८३, सोमबार ०८:४२

काठमाडौं । वालेन्द्र शाह (बालेन) र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता हुँदैछ। भारतको दुईदिने राजकीय भ्रमणमा रहेका शाहले आज भारतीय समकक्षी मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ।

शाह भारतीय प्रधानमन्त्री मोदीको मैत्रीपूर्ण निमन्त्रणामा आइतबार नयाँ दिल्ली पुगेका हुन्। प्रधानमन्त्रीको पदभार ग्रहण गरेपछि उनको यो पहिलो द्विपक्षीय विदेश भ्रमण हो। भ्रमणको मुख्य उद्देश्य दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाउँदै आर्थिक तथा विकास साझेदारी विस्तार गर्नु रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

भेटवार्तामा विशेषगरी ऊर्जा, जलविद्युत्, व्यापार, पारवहन, पूर्वाधार विकास, रेल तथा हवाई सम्पर्क विस्तार र आर्थिक सहकार्यका विषयले प्राथमिकता पाउनेछ। नेपालबाट भारतमा विद्युत् निर्यात विस्तार, सीमापार प्रसारण लाइनको क्षमता वृद्धि तथा दीर्घकालीन विद्युत् व्यापारलाई थप प्रभावकारी बनाउने विषयमा छलफल हुनेछ।

त्यस्तै दुई देशबीचको कनेक्टिभिटी विस्तारअन्तर्गत जनकपुरधाम र भारतको अयोध्याबीच यात्रुवाहक रेल सेवा सञ्चालन गर्ने प्रस्ताव पनि छलफलमा समेटिनेछ। भारतको रक्सौलदेखि काठमाडौँसम्म रेलमार्ग निर्माणको सम्भावना तथा पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलका लागि भारतीय हवाई क्षेत्र हुँदै थप हवाई रुट उपलब्ध गराउने विषयमा पनि छलफल हुन सक्नेछ।

शाहको भ्रमणको पहिलो दिन आइतबार भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले नयाँ दिल्लीस्थित होटल ताजमहलमा उनीसँग शिष्टाचार भेटवार्ता गरेका थिए। भेटमा दुई देशबीचको सम्पर्क सञ्जाल, व्यापार, पारवहन, ऊर्जा, संस्कृति, शिक्षा तथा खेलकुद क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

यसैगरी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल–भारत बिजनेस राउन्डटेबललाई सम्बोधन गर्दै भारतीय व्यवसायी, उद्यमी तथा लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरेका थिए। भ्रमणका क्रममा शाहले आजै भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम छ। आज मोदीले नेपाली प्रधानमन्त्री तथा प्रतिनिधिमण्डलको सम्मानमा औपचारिक दिवाभोज आयोजना गर्नेछन्।

शाहसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकारलगायत सरकारी टोली भ्रमणमा सहभागी छन्। निजी क्षेत्रका व्यवसायीहरूको प्रतिनिधिमण्डल पनि भ्रमणमा सहभागी भएको छ। शाह आजै भ्रमण सम्पन्न गरी स्वदेश फर्कने कार्यक्रम छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*