बैंकिङ कसुरमा इन्द्रबहादुर बानियाँविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। बैंकिङ कसुरसम्बन्धी विषयमा अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उच्च अदालत पाटनबाट गत साता पक्राउ अनुमति लिएको हो।
स्रोतका अनुसार बानियाँमाथि बैंकिङ कसुरसम्बन्धी घटनामा अनुसन्धान अघि बढाउन प्रहरीले अदालतबाट पक्राउ अनुमति प्राप्त गरेको हो। यद्यपि, उनी कुन घटनामा संलग्न रहेको आरोपमा अनुसन्धानको दायरामा तानिएका हुन् भन्नेबारे प्रहरीले औपचारिक रूपमा केही खुलाएको छैन।
यसअघि प्रहरीले बानियाँका छोरा दीक्षान्तलाई पक्राउ गरेको थियो। त्यस्तै, गत वैशाखमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बानियाँको घरमा छापा मारेको थियो। पछिल्लो घटनाक्रमसँगै बानियाँविरुद्ध पनि अनुसन्धान अघि बढाइएको हो।
बानियाँविरुद्ध पक्राउ अनुमति जारी भए पनि उनी पक्राउ परिसकेको भने पुष्टि भएको छैन। उनी २०८२ साउन २० गतेदेखि २०८३ भदौ १ गतेसम्म बागमती प्रदेशको मुख्यमन्त्री पदमा रहेका थिए।











