फेसबुक आइडी ह्याक गरी आफन्तसँग रकम ठग्ने गिरोहका चार सदस्य पक्राउ

काठमाडौं । विदेशमा रहेका नेपालीको फेसबुक खाता ह्याक गरी नेपालमा रहेका आफन्तलाई विभिन्न बहाना बनाएर पैसा माग्ने र ठगी गर्ने गिरोहका चार सदस्य मोरङबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा दुई भारतीय र दुई नेपाली नागरिक रहेका छन्।
प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतको बेलिया जिल्लाका २६ वर्षीय ताहिर हुसैन, कटिहार जिल्लाका ३६ वर्षीय मोहम्मद सावुद्दिन, विराटनगर महानगरपालिका–१७ का २३ वर्षीय ओपार आलम र विराटनगर–१ का २३ वर्षीय फैयाज खान छन्। भारतीय नागरिक ताहिर र सावुद्दिन विराटनगर–४ स्थित एयरपोर्ट मोड क्षेत्रमा डेरा गरी बस्दै आएका थिए।
उनीहरूले विदेशमा रहेका व्यक्तिको फेसबुक खाता अनधिकृत रूपमा नियन्त्रणमा लिएर नेपालमा रहेका आफन्त तथा चिनजानका व्यक्तिसँग सम्पर्क गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। फेसबुक प्रयोगकर्ताको परिचयमा रहेका व्यक्तिहरूलाई समस्या परेको भन्दै रकम आवश्यक भएको बहाना बनाउने र विभिन्न बैंक खाताका क्यूआर कोड पठाएर पैसा जम्मा गर्न लगाउने उनीहरूको तरिका रहेको प्रहरीले जनाएको छ।
उनीहरूले विभिन्न व्यक्तिबाट कुल ४ लाख ४५ हजार रुपैयाँ ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। पीडितले दिएको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले उनीहरूलाई विराटनगरका छुट्टाछुट्टै स्थानबाट नियन्त्रणमा लिएको हो।











