सिटिजन्स बैंकको लुम्बिनी प्रदेशमा कर्जा विस्तार र असुली रणनीतिबारे छलफल

७ मंसिर २०८३, सोमबार १२:२३

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले लुम्बिनी प्रदेशमा कर्जा विस्तार र कर्जा असुलीलाई प्रभावकारी बनाउने उद्देश्यले रणनीतिक कार्यक्रम सम्पन्न गरेको छ। बैंकले मंसिर ७ गते ‘सिटिजन्स बिल्डिङ स्केल एण्ड भ्यालुः लुम्बिनी प्रदेशमा रणनीतिक कर्जा विस्तार तथा कर्जा असुली (आर्थिक वर्ष २०८३/८४)’ विषयक कार्यक्रम आयोजना गरेको हो।

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलसहित वरिष्ठ कार्यकारीहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा प्रदेश प्रमुख, शाखा प्रबन्धक तथा अन्य कर्मचारी सहभागी थिए।

कार्यक्रममा गत आर्थिक वर्षको कार्यप्रगतिको समीक्षा गर्नुका साथै चालू आर्थिक वर्षको बजेट, रणनीतिक कार्ययोजना र प्राथमिकताबारे छलफल गरिएको बैंकले जनाएको छ। केन्द्र र प्रदेशबीचको सहकार्य थप सुदृढ बनाउने, कर्जा विस्तारलाई व्यवस्थित गर्ने तथा प्रवाह भएको कर्जा समयमै असुल गर्ने विषयमा सहभागीबीच अन्तरक्रिया भएको थियो।

बैंकका अनुसार लुम्बिनी प्रदेशका नौ जिल्लामा उसका ५१ वटा शाखा सञ्चालनमा छन्। बैंकले प्रदेशमा आफ्नो सेवा विस्तारसँगै कर्जा लगानी र असुली प्रक्रियालाई प्रभावकारी बनाउने रणनीतिअनुसार कार्यक्रम आयोजना गरेको जनाएको छ।

बैंकले पछिल्लो समय विभिन्न डिजिटल तथा ग्राहक लक्षित सेवा पनि सञ्चालनमा ल्याएको छ। फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ नामक भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गरेको बैंकको भनाइ छ। त्यस्तै, युवा पुस्तालाई लक्षित ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट’, एकीकृत अनलाइन बैंकिङ प्लेटफर्म ‘सिटिजन्स डिजी बैंक’ र फ्रिलान्सरहरूका लागि ‘फ्रिलान्सर सेभिङ्स अकाउन्ट’ सञ्चालनमा ल्याएको छ।

यसका साथै बैंकले मोबाइल बैंकिङ एपबाटै सेयर आवेदन र सीआरएन नम्बर लिन सकिने सुविधा उपलब्ध गराएको छ। अन्य बैंकका ग्राहकले समेत सिटिजन्स बैंकका शाखामा टेलर क्यूआर कोड स्क्यान गरेर नगद प्राप्त गर्न सक्ने क्रस बैंक टेलर सुविधा पनि सञ्चालनमा ल्याएको छ। बैंकले यस्ता सेवामार्फत ग्राहकलाई सहज र आधुनिक बैंकिङ सुविधा उपलब्ध गराउने लक्ष्य राखेको जनाएको छ।

हाल बैंकले देशका ६१ जिल्लामा रहेका २०० शाखा, १६७ एटीएम, तीन विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिँदै आएको छ। बैंकका अनुसार उसका ग्राहक संख्या २० लाख ८५ हजार पुगेको छ। बैंकले ‘बैंक अफ द इयर २०२४’ र ‘बैंक अफ द इयर २०२५’ को उपाधिसमेत प्राप्त गरेको जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*