ऋणको भारीले थिचिँदै सरकारी ढुकुटी, चार महिनामै १ खर्ब ४१ अर्ब साँवा–ब्याज भुक्तानी

काठमाडौँ । नेपालको सार्वजनिक ऋण व्यवस्थापन प्रणाली ऋण लिएर पुरानै ऋणको साँवा तथा ब्याज तिर्नुपर्ने चक्रमा फस्दै गएको देखिएको छ। सरकारले विकास निर्माण र पूर्वाधारमा लगानी गर्ने उद्देश्यले उठाएको नयाँ ऋणको ठूलो हिस्सा पुरानो दायित्व भुक्तानीमै खर्च गर्नुपरेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चौमासिक प्रतिवेदनअनुसार कात्तिक मसान्तसम्म सरकारले विभिन्न वित्तीय उपकरणमार्फत १ खर्ब ५३ अर्ब ८४ करोड ७२ लाख रुपैयाँ नयाँ ऋण परिचालन गरेको छ। तर, सोही अवधिमा पुरानो ऋणको साँवा र ब्याज भुक्तानीमा १ खर्ब ४० अर्ब ९३ करोड ६१ लाख रुपैयाँ खर्च भएको छ। यसअनुसार नयाँ ऋणबाट प्राप्त रकमको करिब ९१.६१ प्रतिशत हिस्सा पुरानै दायित्व भुक्तानीमा सकिएको छ।
सरकारले ऋण परिचालन गरेर विकास आयोजना, भौतिक पूर्वाधार तथा उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्नुपर्नेमा त्यसको अधिकांश हिस्सा ऋणको दायित्व व्यवस्थापनमै खर्च गर्नुपरेको तथ्यले सार्वजनिक वित्तको अवस्थामाथि प्रश्न उठाएको छ। ऋणबाट प्रतिफल प्राप्त हुने गरी पूँजी निर्माण गर्न नसक्दा नयाँ ऋणले अर्थतन्त्रमा थप उत्पादन र आम्दानी सिर्जना गर्नुको सट्टा पुरानो दायित्व धान्ने माध्यमको रूप लिँदै गएको देखिन्छ।
चार महिनाको अवधिमा नयाँ ऋण परिचालन भए पनि नेपालको कुल सार्वजनिक ऋण भने केही घटेको तथ्याङ्कले देखाएको छ। चालु आर्थिक वर्षको सुरुवातमा २९ खर्ब ८१ अर्ब ७० करोड २८ लाख रुपैयाँ रहेको कुल सार्वजनिक ऋण कात्तिक मसान्तमा २९ खर्ब ७५ अर्ब ११ करोड ८० लाख रुपैयाँमा झरेको छ। यस अवधिमा कुल ऋण ६ अर्ब ५८ करोड रुपैयाँले घटेको देखिए पनि यसको मुख्य कारण ऋण भुक्तानीभन्दा विदेशी मुद्रा विनिमय दरमा आएको परिवर्तन रहेको प्रतिवेदनले देखाएको छ।
समीक्षा अवधिमा नेपाली रुपैयाँ विदेशी मुद्राको तुलनामा बलियो हुँदा सरकारले विनिमय दरबाट ४३ अर्ब ११ करोड २० लाख रुपैयाँ बराबरको लाभ प्राप्त गरेको छ। यही कारण कुल ऋण दायित्वमा गिरावट देखिएको हो। विनिमय दरबाट प्राप्त लाभलाई हटाएर हेर्दा नेपालको सार्वजनिक ऋणको भार चार महिनामै ३० खर्ब १८ अर्ब रुपैयाँ नाघ्ने अवस्था देखिन्छ। विदेशी मुद्राको विनिमय दरमा हुने परिवर्तनले बाह्य ऋणको नेपाली रुपैयाँमा गणना गरिएको दायित्वलाई प्रत्यक्ष प्रभाव पार्ने भएकाले अहिले देखिएको गिरावटलाई वास्तविक ऋण घटेको अवस्थाका रूपमा लिन सकिँदैन।
सरकारले चालु आर्थिक वर्षमा ऋण सेवाका लागि ४ खर्ब १७ अर्ब ८८ करोड ७० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। तर, पहिलो चार महिनामै उक्त बजेटको ३३.७३ प्रतिशत खर्च भइसकेको छ। कात्तिक मसान्तसम्म ऋणको साँवा भुक्तानीमा १ खर्ब १७ अर्ब ३२ करोड रुपैयाँ खर्च भएको छ। यो वार्षिक साँवा भुक्तानीका लागि विनियोजित बजेटको ३६.८८ प्रतिशत हो। त्यस्तै, कुल गार्हस्थ्य उत्पादनको तुलनामा समीक्षा अवधिको ऋण सेवा खर्च २.१४ प्रतिशत पुगेको छ।
ऋणको स्रोतगत अवस्था हेर्दा सरकारले वैदेशिक ऋण परिचालनमा अपेक्षित प्रगति गर्न सकेको छैन। चालु आर्थिक वर्षमा बाह्य स्रोतबाट २ खर्ब ४८ अर्ब २८ करोड रुपैयाँ ऋण प्राप्त गर्ने लक्ष्य राखिएकामा कात्तिक मसान्तसम्म २८ अर्ब ८४ करोड ७२ लाख रुपैयाँ मात्रै प्राप्त भएको छ। यो वार्षिक लक्ष्यको ११.६२ प्रतिशत हो। सहुलियतपूर्ण ब्याजदरमा उपलब्ध हुने वैदेशिक ऋण परिचालन कमजोर हुँदा सरकारले आन्तरिक बजारबाट ऋण उठाउनुपर्ने दबाब बढेको देखिन्छ।
वैदेशिक ऋण परिचालन कमजोर हुनुमा विकास आयोजनाको कार्यान्वयन क्षमता, निर्माणमा हुने ढिलाइ र प्रशासनिक प्रक्रियामा देखिएका समस्या प्रमुख चुनौतीका रूपमा रहेका छन्। दातृ निकायबाट प्राप्त हुने सहुलियतपूर्ण ऋणको ठूलो हिस्सा आयोजना कार्यान्वयन र खर्चको प्रगतिका आधारमा शोधभर्ना हुने भएकाले आयोजनाको काम प्रभावकारी रूपमा अघि बढ्न नसक्दा ऋण प्राप्तिमा समेत असर पर्ने गरेको छ। पहिलो चार महिनामा परिचालन भएको कुल ऋणमध्ये वैदेशिक ऋणको हिस्सा १८.७५ प्रतिशतमा सीमित रहेको छ।
अर्कोतर्फ, सरकारले आन्तरिक ऋण परिचालनलाई तीव्रता दिएको छ। चालु आर्थिक वर्षमा ४ खर्ब १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखिएकामा कात्तिक मसान्तसम्म १ खर्ब २५ अर्ब रुपैयाँ उठाइसकिएको छ। यो वार्षिक लक्ष्यको ३०.४९ प्रतिशत हो। समीक्षा अवधिमा परिचालन भएको कुल नयाँ ऋणमध्ये आन्तरिक ऋणको हिस्सा ८१.२५ प्रतिशत रहेको छ। वैदेशिक ऋणको तुलनामा आन्तरिक ऋणको हिस्सा अत्यधिक हुनु र यसको लागत तुलनात्मक रूपमा महँगो पर्नुले आगामी दिनमा सरकारी वित्तमाथि थप दबाब सिर्जना गर्ने देखिन्छ।
सरकारले आन्तरिक वित्तीय बजारबाट ठूलो परिमाणमा ऋण उठाउँदा बैंक तथा वित्तीय संस्थामा उपलब्ध लगानीयोग्य रकमको ठूलो हिस्सा सरकारी ऋणपत्रमा केन्द्रित हुन सक्छ। यसले निजी क्षेत्रका लागि कर्जा उपलब्धतामा संकुचन ल्याउने र उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार प्रभावित पार्ने जोखिम रहन्छ। निजी क्षेत्रले लगानी विस्तार गर्न आवश्यक पूँजी प्राप्त गर्न कठिनाइ भोगिरहेका बेला सरकार आफैंले आन्तरिक बजारबाट ठूलो रकम संकलन गर्नु अर्थतन्त्रको समग्र लगानी वातावरणका लागि चुनौतीपूर्ण हुन सक्छ।
ऋणको साँवा भुक्तानीसँगै ब्याज खर्चले पनि सरकारी बजेटमा उल्लेख्य भार थपेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार पहिलो चार महिनामा सरकारले २३ अर्ब ६१ करोड ६१ लाख रुपैयाँ ब्याज भुक्तानी गरेको छ। यो वार्षिक ब्याज भुक्तानीका लागि विनियोजित बजेटको २३.६६ प्रतिशत हो। यसमध्ये आन्तरिक ऋणको ब्याजमा १९ अर्ब २४ करोड ८२ लाख रुपैयाँ र बाह्य ऋणको ब्याजमा ४ अर्ब ३६ करोड ७९ लाख रुपैयाँ खर्च भएको छ। यस हिसाबले सरकारले प्रतिमहिना औसत ६ अर्ब रुपैयाँभन्दा बढी रकम ब्याज भुक्तानीमा खर्च गरिरहेको छ।
आन्तरिक ऋणको ब्याजदर तुलनात्मक रूपमा महँगो हुने भएकाले यसको हिस्सा बढ्दै जाँदा सरकारले आगामी वर्षहरूमा थप वित्तीय भार बेहोर्नुपर्ने सम्भावना छ। नागरिकबाट संकलित राजस्वको ठूलो रकम विकास आयोजना, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षामा खर्च हुनुपर्नेमा ऋणको ब्याज भुक्तानीमै सीमित हुनु सार्वजनिक खर्चको प्रभावकारिताका दृष्टिले समेत चिन्ताजनक मानिन्छ।
कात्तिक मसान्तसम्म नेपालको कुल सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब ११ करोड ८० लाख रुपैयाँ पुगेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को कुल गार्हस्थ्य उत्पादनका आधारमा यो ऋण कुल गार्हस्थ्य उत्पादनको ४५.०८ प्रतिशत हो। कुल ऋणमध्ये बाह्य ऋण १५ खर्ब ७४ अर्ब ६४ करोड २१ लाख रुपैयाँ अर्थात् ५२.९३ प्रतिशत रहेको छ। यो कुल गार्हस्थ्य उत्पादनको २३.८६ प्रतिशत बराबर हो। त्यस्तै, आन्तरिक ऋण १४ खर्ब ४७ अर्ब ५९ करोड रुपैयाँ अर्थात् कुल सार्वजनिक ऋणको ४७.०७ प्रतिशत रहेको छ। यसको हिस्सा कुल गार्हस्थ्य उत्पादनको २१.२२ प्रतिशत छ।
सरकारी ऋणको मासिक प्रवाहमा समेत असन्तुलन देखिएको छ। प्रतिवेदनअनुसार भदौ महिनामा सरकारले आन्तरिक ऋणको साँवा र ब्याज भुक्तानीमा ५४ अर्ब ४५ करोड ८८ लाख रुपैयाँ तथा बाह्य ऋणतर्फ ५ अर्ब ५५ करोड ५७ लाख रुपैयाँ गरी कुल ६० अर्ब १ करोड ४५ लाख रुपैयाँ भुक्तानी गरेको थियो। तर, सोही महिनामा सरकारले ३८ अर्ब १० करोड ५१ लाख रुपैयाँ मात्रै नयाँ ऋण उठाउन सकेको थियो। यसले भदौ महिनामा सरकारी ढुकुटीबाट ऋण व्यवस्थापनकै क्रममा ठूलो रकम बाहिरिएको देखाउँछ।
भदौमा भएको नगद अभाव व्यवस्थापन गर्न सरकारले असोजमा ६२ अर्ब ७५ करोड ३१ लाख रुपैयाँ ऋण उठाएको थियो। तर, कात्तिकमा २९ अर्ब १४ करोड रुपैयाँ ऋण परिचालन गर्दा ४२ अर्ब ६ करोड रुपैयाँ भुक्तानी गर्नुपरेको थियो। यसले सरकारको ऋण परिचालन र भुक्तानीबीच मासिक रूपमा समेत ठूलो अन्तर रहने गरेको तथा नगद प्रवाह व्यवस्थापनमा चुनौती थपिएको देखाउँछ।
सार्वजनिक ऋणलाई आफैंमा आर्थिक बोझका रूपमा मात्रै हेर्न मिल्दैन। उत्पादनमूलक पूर्वाधार, ऊर्जा, यातायात, उद्योग तथा सामाजिक क्षेत्रमा प्रतिफल दिने गरी परिचालन गर्न सके ऋणले आर्थिक वृद्धि र राजस्व विस्तारमा योगदान पुर्याउन सक्छ। तर, नयाँ ऋणबाट प्राप्त स्रोत पुरानै ऋणको साँवा तथा ब्याज भुक्तानीमा खर्च हुने र विकास आयोजनाको कार्यान्वयन कमजोर रहने हो भने ऋणको उपयोगिता घट्दै जान्छ।
वैदेशिक सहुलियतपूर्ण ऋण परिचालनमा सुधार गर्न नसक्ने र आन्तरिक बजारबाट महँगो ब्याजमा ऋण उठाएर पुरानै दायित्व भुक्तानी गर्दै जाने प्रवृत्ति कायम रहे सरकारी बजेटको ठूलो हिस्सा ऋण सेवामै खर्च हुने जोखिम छ। त्यसले विकास निर्माण, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा तथा अन्य सार्वजनिक सेवामा लगानी गर्न सक्ने सरकारको क्षमता कमजोर बनाउनेछ। सार्वजनिक ऋणको दिगोपना कायम राख्न आयोजना कार्यान्वयनमा सुधार, वैदेशिक सहायता परिचालनमा प्रभावकारिता, ऋणको लागत व्यवस्थापन र खर्चको प्राथमिकतामा कडाइ आवश्यक देखिएको छ।











