सबै नेपालीलाई स्वास्थ्य बीमामा अनिवार्य आबद्ध गर्ने गरी कानुन संशोधन हुँदै

९ मंसिर २०८३, बुधबार १४:५२

काठमाडौं । सरकारले सबै नेपाली नागरिकलाई स्वास्थ्य बीमामा अनिवार्य रूपमा आबद्ध गर्ने गरी कानुनी तथा नीतिगत सुधारको तयारी गरेको छ। नागरिक बिरामी पर्दा उपचार खर्चको चिन्ता र आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्थासँग जुध्ने उद्देश्यले स्वास्थ्य बीमा प्रणालीलाई थप व्यवस्थित र दिगो बनाउन लागिएको हो।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले स्वास्थ्य बीमासम्बन्धी कानुन संशोधन गरेर प्रत्येक नागरिकको स्वास्थ्य उपचार सुनिश्चित गर्ने तयारी भइरहेको जानकारी दिएकी छन्।

मन्त्री गौतमका अनुसार हाल पाँच सदस्यसम्मको एउटा परिवारले वार्षिक ३ हजार ५०० रुपैयाँ योगदान गर्दा एक लाख रुपैयाँसम्मको स्वास्थ्य उपचार सुविधा पाउने व्यवस्था छ। स्वास्थ्य बीमा बोर्डको तथ्याङ्कअनुसार हालसम्म एक करोड ६८ लाखभन्दा बढी नागरिक स्वास्थ्य बीमामा आबद्ध भइसकेका छन्। तर तीमध्ये ६२ लाखभन्दा बढीको मात्रै बीमा सक्रिय रहेको छ। देशभरका ५०२ स्वास्थ्य संस्था स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध छन्।

स्वास्थ्य बीमा कार्यक्रममा नागरिकको सहभागिता बढ्दै गए पनि योगदानबाट उठ्ने रकम र उपचारमा खर्च हुने रकमबीच ठूलो अन्तर रहेको मन्त्री गौतमले उल्लेख गरेकी छन्। अनावश्यक स्वास्थ्य परीक्षण, गलत बीमा दाबी, दोहोरो सुविधा लिने प्रवृत्ति र बीमा प्रणालीको दुरुपयोगलाई पनि नियन्त्रण गर्नुपर्ने चुनौती रहेको उनको भनाइ छ।

प्रस्तावित सुधारअनुसार सरकारी कर्मचारी, निजी क्षेत्रका कर्मचारी तथा श्रमिक, स्वरोजगार, अनौपचारिक क्षेत्रमा काम गर्ने र बेरोजगार सबैलाई निश्चित सीमासम्मको स्वास्थ्य बीमामा अनिवार्य आबद्ध गराउने योजना छ। नागरिकको आम्दानी र आर्थिक अवस्थाअनुसार बीमाको योगदान रकम निर्धारण गरिनेछ भने योगदान गर्न नसक्ने नागरिकको स्वास्थ्य बीमाको जिम्मेवारी राज्यले लिने व्यवस्था गरिनेछ।

त्यस्तै स्वास्थ्य बीमा बोर्ड, सामाजिक सुरक्षा कोष तथा विभिन्न निकायले सञ्चालन गर्दै आएका स्वास्थ्य उपचारसम्बन्धी कार्यक्रमलाई एकीकृत र व्यवस्थित बनाउने सरकारको तयारी छ। बीमा कार्यक्रममा आबद्ध स्वास्थ्य संस्थाको दायरा बढाउने, अनलाइन प्रणालीमार्फत बीमा दर्ता तथा नवीकरण, बिरामीको स्वास्थ्य विवरण, उपचारका लागि अर्को अस्पतालमा पठाउने प्रक्रिया, बीमा दाबी र भुक्तानीलाई पारदर्शी बनाउने विषयलाई पनि प्राथमिकता दिइएको छ।

यसका साथै अनावश्यक स्वास्थ्य परीक्षण र गलत बीमा दाबी रोक्न प्रभावकारी कानुनी व्यवस्था तथा निगरानी प्रणाली बनाउने योजना छ। स्थानीय, प्रदेश र सङ्घीय सरकारअन्तर्गतका स्वास्थ्य संस्थालाई स्वास्थ्य बीमा प्रणालीसँग जोडेर तीनै तहका सरकारको जिम्मेवारी र आर्थिक दायित्वसमेत स्पष्ट पारिने मन्त्री गौतमले जानकारी दिएकी छन्।

मन्त्री गौतमका अनुसार यसै विषयमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जेपी अग्रवाल, प्रधानमन्त्रीको सचिवालय, स्वास्थ्य बीमा बोर्ड, सामाजिक सुरक्षा कोषलगायत सम्बन्धित निकायका प्रतिनिधिसँग छलफल भएको थियो।

स्वास्थ्य बीमामा कति नागरिक आबद्ध भए भन्नेभन्दा पनि आवश्यक परेको बेला नागरिकले कति सहज रूपमा उपचार पाउँछन् र बीमा प्रणाली कति दिगो हुन्छ भन्ने कुरा महत्त्वपूर्ण रहेको मन्त्री गौतमको भनाइ छ। सक्षम नागरिकले आफ्नो क्षमताअनुसार योगदान गर्ने र आर्थिक रूपमा असमर्थ नागरिकको जिम्मेवारी राज्यले लिने गरी कानुन संशोधनको काम अघि बढाइएको उनले बताएकी छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*