राफसाफमा लापरबाही गर्दा मनि वर्ल्ड सेयर एक्सचेन्ज तीन दिन निलम्बित
१० मंसिर २०८३, बिहीबार १२:४४

काठमाडौं । मनि वर्ल्ड सेयर एक्सचेन्ज प्रालि तीन कार्य दिनका लागि निलम्बनमा परेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले तोकिएको समयभित्र धितोपत्र कारोबारको राफसाफ तथा फर्छ्यौट कार्य सम्पन्न नगरेको भन्दै कम्पनीलाई निलम्बन गरेको हो ।
सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले निर्धारित समयभित्र राफसाफ तथा फर्छ्यौट कार्य सम्पन्न नगरेको भन्दै कम्पनीलाई निलम्बन गर्न नेप्सेसमक्ष सिफारिस गरेको थियो ।
सोही सिफारिसका आधारमा नेप्सेले धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को विनियम २२ (१) (छ) बमोजिम तीन कार्य दिनका लागि कम्पनीको कारोबार निलम्बन गर्ने निर्णय गरेको जनाएको छ ।











